ताजा खबर

वर्तमान सरकारले कानुनी शासनको धज्जी उडायो स् काँग्रेस

पोखरा २३, जेठ

नेपाली कांग्रेसले वर्तमान सरकारले कानुनी शासनको धज्जी उडाएको बताएको छ । सातवटै प्रदेशमा आयोजित प्रदेशस्तरीय जुम बैठकबाट प्राप्त विचारहरु संश्लेषण गरी सबै जिल्लाका सभापतिहरुको तर्फबाट जारी गरिएको १० बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले जननिर्वाचित संसदप्रति उत्तरदायी रहनुपर्ने मुलुककै कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभा प्रति ज्यादै असहिष्णु र पूर्वाग्रही बन्नु प्रतिगमनको बाटो भएको बताइएको छ । संसद छलेर अध्यादेश र आदेसको भरमा सत्ता संचालन गर्नु ओलीतन्त्र भएको बताइएको छ ।

संसदको विश्वास गुमाइसकेर पनि संविधानको प्रावधान विपरीत प्रधानमन्त्री पदप्रति निर्लज्ज आशक्ति देखाइरहनु लोकतन्त्रविरोधी कदम भएको उल्लेख गरिएको छ । सहज–स्वाभाविक र आमसहभागितामूलक निर्वाचनको वातावरण सुनिश्चित नगरी एकोहोरो निर्वाचनको रट लगाउनुले यो सरकार सुनियोजित रुपमै योजनावध्द रोडम्याप सहित प्रतिगमनतर्फ अग्रसर भएको ठहर गरिएको बताइएको छ ।

“नेपालको इतिहासमै कुनैपनि जननिर्वाचित सरकारको पालामा अहिलेजस्तो राष्ट्र , राष्ट्रियताको जग यतिविघ्न कमजोर कहिल्यै भएको थिएन। सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा “बहुल राष्ट्र राज्य” को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रीय एकता र भौगोलिक अखण्डतामाथि गंभीर प्रहार भएको छ। पार्टीको आन्तरिक मामिलामा समेत बाह्य प्रशिक्षण, चलखेल र हस्तक्षेपकारी भूमिका नग्न रुपबाट पटकपटक प्रकट भए भने अन्तर्राष्ट्रिय सम्वन्धमा पारस्परिक सन्तुलन, भाईचारा, विश्वास र हार्दिकता कायम राख्न यो सरकार पूर्णतः असफल भएको ठहर गर्दछौं ।”, विज्ञप्तिमा उल्लेख छ ।

कोभिड संक्रमणको नयाँ लहरले शहर–गाऊँ सबै लपेटीसक्दा पनि सामान्य सिटामोल, थर्मामीटर, अक्सीमिटर तथा अक्सिजन सिलिण्डर उपलब्ध गराउनेतर्फ यो सरकार संवेदनशील नरहेको तर्क काँग्रेसको छ । उल्टै अप्रमाणित गफ चुटेर प्रधानमंत्री रमाईलो मान्दै हिँडेको आरोप लगाइएको छ । सबै नागरिकलाई अविलम्ब खोप लगाउने प्रवन्ध गर्न, सम्पूर्ण पालिकास्तरमा औषधि उपकरण सहितको आइसोलेसन सेण्टर संचालनमा ल्याउन, पिसिआर र कन्ट्याक्ट ट्रेसिंगलाई ब्यापक तुल्याउन तथा लकडाउनका कारण खाद्य संकट बेहोर्न वाध्य गरीव एवं श्रमिकवर्गलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई काँग्रेसको आग्रह छ ।

वाइडवडी काण्ड, फोरजी काण्ड, यति–ओम्नी काण्ड, प्रिन्टिंग प्रेस काण्ड, वालुवाटार जग्गा काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड, कोभिड औषधि–उपकरण काण्ड जस्ता थुप्रै भ्रष्टाचारमा सरकार लिप्त भएको र यसले नेपालको अन्तर्राष्ट्रिय छवि ध्वस्त बनाएको बताइएको छ । विज्ञप्तिमा नेपालमा प्रधानमन्त्रीबाटै भ्रष्टाचारीहरु संरक्षित रहेको स—प्रमाण ट्रान्स्परेन्सी ईन्टरनेशनलको प्रतिवेदन सार्वजनिक भएको र आमनागरिकको शिर निहुरिएको कांग्रेसको ठहर छ । उसले अविलम्ब सम्पूर्ण भ्रष्टाचार काण्डहरुको विश्वसनीय छानवीन गरी दोषीहरुमाथि कडा कारबाहीको माग गरेको छ ।

“राजनीतिक आस्था, जात, धर्म, वर्ग, लिंगको नाममा विभेद बढ्दो छ । बलात्कार, अपहरणका वग्रेल्ती घटनाहरुमा सम्बद्ध अपराधीलाई सत्ता संरक्षण प्राप्त छ । महामारीको मौका छोपेर खाने तेल, पेट्रोलियम पदार्थ लगायत अन्य अत्यावश्यक वस्तुहरुको वजार मूल्य अराजक ढंगबाट वृद्धि भएको छ । सरकार आफैंले घोषणा गरेका थुप्रै योजनाहरु बजेटको अभावमा अलपत्र छन् । दण्डहिनता सरकारको पहिचान नै बनिसक्यो । हामी विधिको शासनका प्रति मन–बचन र कर्मदेखि नै पूर्ण प्रतिबद्ध रहन र सुशासन प्रदान गर्न यस सरकारलाई हार्दिक आग्रह गर्दछौं ।”, विज्ञप्तिमा भनिएको छ ।

वर्तमान सरकार राजनीतिक स्थिरता विरोधी मात्र नभई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि निर्माण प्रति पनि जिम्मेवार नदेखिएको नुवाकोट नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताएका छन् । उनका अनुसार जनताको टाउकोमा ऋण माथि ऋण थपिएको र अवैधानिक बाटोवाट वजेट घोषणा भएको छ । “ जनताको आँखामा छारो हाल्ने, दिर्घकालिकन राष्ट्रघाती योजना समेत घोषणा भएका छन । चुरेभावर क्षेत्रबाट गिट्टी, ढुंगा, वालुवाको निकासीलाई खुला गरेर सरकारले केही सिमित पिछलग्गूहरुको स्वार्थ सिद्धि मार्फत सिंगो तराईको मरुभूमीकरणलाई निम्त्याएको छ । यो सतप्रतिशत देशद्रोह हो । देश र जनतालाई दिर्घकालिन र गम्भिर प्रभाव पार्ने कुनै पनि किसिमको निर्णय नगर्न यो सरकारलाई आग्रह गर्दछौं ।”, उनले भने ।

“नेपालमा लोकतन्त्र प्राप्तिको संघर्ष सात दशकभन्दा लामो भएतापनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको धेरै भएको छैन”, विज्ञप्तिमा भनिएको छ । नेपालको स्वाधिनताको रक्षा, नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार, आर्थिक सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणमा एकलव्य संकल्पका साथ लाग्नुपर्ने धारणा काँग्रेसको छ । संवैधानिक निकाय, सामाजिक संघसंस्था, नागरिक समाजलाई कसैको अनुचित प्रभावमा नपरी संविधान र लोकतान्त्रिक मूल्य पद्धतिको रक्षार्थ योगदान गर्न अपिल गरिएको छ ।

सुदुरपुर्वी जिल्ला ताप्लेजुङ स्थित धार्मिक, पर्यटकीय महत्व बोकेको सुकेटार विमानस्थल लगायत देशभरीका महत्वपुर्ण योजना, आयोजना, पुरातात्विक महत्वका तिर्थस्थल तथा महत्वपुर्ण स्थलहरुको मौलिकता माथि नै प्रहार गर्दै नाम परिवर्तन गरि धार्मिक, आध्यात्मिक मौलिक संवेदना माथि खेलवाड नगर्न सरकारलाई काँगे्रसको अनुरोध छ ।

वर्तमान राष्ट्रपतिको असन्तुलित भूमिका प्रति समेत ध्यानार्कषण गराइएको छ । “नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रिय सभाका लागि सिफारिस गरेका नामहरु जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाऊ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पुर्याउने कुरा एकदमै दुर्भाग्यपूर्ण छ । संविधानको भरपर्दो रक्षक तथा आमजनताको निष्पक्ष अभिभावक बनीदिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सर्वोच्च संस्था समक्ष विनम्र अनुरोध गर्दछौं ।”, विज्ञप्तिमा भनिएको छ ।

वर्तमान कोभिड संक्रमण तथा ओलीद्वारा सिर्जित राजनीतिक प्रतिगमन विरुद्ध नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र पार्टीको १४ औं महाधिवेशन तथा अन्य आन्तरिक पार्टी सरोकारका बिषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय समेत सातै प्रदेशका सबै जिल्लाका सभापतिहरुले गरेका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *