ताजा खबर

पोखरामा पत्रकार गणेश पौडेलको सम्झना

पोखरा ११ जेठ

कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल ९गणेश० को
स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभामा अग्रज पत्रकार एवं पत्रकारका नेताहरुले गणेश पौडेल
अत्यन्तै मिलनसार र सहहृदयी मित्र भएको भन्दै स्मरण गरे । उनीहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले
पत्रकार गणेश पौडेलका परिवारका सदस्यलाई रोजगारीमा लगाउन महासंघले पहल
गर्नुपर्नेमा जोड दिंदै आफूले पनि यस्ता कार्यमा सघाउने प्रतिवद्धता
जनाइन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले कोभिडको
बहानामा कुनै पनि मिडिया हाउसले पत्रकार निष्काशन गर्न नहुने भन्दै यस्तो
गरेको पाइएमा पत्रकार महासंघ चुप लागेर नबस्ने चेतावनी दिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले टेलिभिजन पत्रकारिता
जगतमा उदाउँदो व्यक्तित्व पौडेलको निधनले कहीं न कही अभाव महसूस हुने
बताइन् ।

उनले पौडेलको परिवारजनलाई आवश्यक परेको सहयोग गर्न महासंघ प्रतिवद्ध
रहेको स्पष्ट पारिन् ।

महासंघ प्रत्येक पत्रकारको साथमै रहेको र हरेक दुःखमा साथ दिने भन्दै
अध्यक्ष भण्डारीले कोभिड खोप लगाउन बाँकी रहेका पत्रकारलाई तत्काल खोपको
व्यवस्था गर्न माग गरिन् ।

साथै उनले कोरोना महामारीमा अत्यन्तै जिम्मेवार र सजग भएर खटिन आग्रह गरिन् ।

महासंघका पूर्व अध्यक्ष नारायण कार्कीले सहयोद्धा पौडेलको निधनले सिंगो
पत्रकार जगत स्तव्ध भएको भन्दै उनलाई बिर्सन निकै गाह्रो पर्ने बताए ।
कोरोनाको दोश्रो लहर निकै खतरनाक र घातक रहेको भन्दै कार्कीले जोगिएर काम
गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमणले छोइहालेमा कत्तिपनि नआत्तिन, पोषिलो, झोलिलो
पद्धार्थ खान र पुदिनाको पात धेरै भन्दा धेरै प्रयोग गर्न पनि आग्रह गरे
। कोभिड भएका व्यक्तिले खानेकुरामा नै धेरै भन्दा धेरै ध्यान दिनुपर्नेमा
कार्कीले जोड दिए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका
अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव
बरालले गणेश पौडेलको निधनले सिंगो पत्रकारिता जगत नै स्तव्ध भएको बताए ।

महासंघका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेलको वैशाख ३० गते निधन
भएको थियो । पोखरा ३३, बागमारा निवासी ४० वर्षीय पौडेल डेढ दशक अघिदेखि
पत्रकारितामा सक्रिय थिए । उनका श्रीमती र दुई छोरा छन् ।

देशभर १६ जना पत्रकारको निधन

नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १६ जना पत्रकारको निधन भएको
छ । यस्तै, ८५० जना पत्रकार संक्रमित भएको महासंघका केन्द्रीय सदस्य
सरिता पगेनी तिमिल्सिनाले जानकारी दिइन् ।

उनले पत्रकार महासंघले कोरोना संक्रमणबाट निधन भएका प्रत्येक पत्रकारका
परिवारलाई ३० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

यस्तै, गण्डकीमा कोरोना संक्रमणका कारण दुई जना पत्रकारको निधन भएको छ ।
गण्डकीमा हालसम्म १०९ जना पत्रकार संक्रमित भएको र अधिकांश निको भइसकेको
महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये हाल सात जना सक्रिय अवस्थामा
छन् । उनीहरु होमआइसोलेशनमै रहेका छन् र।

 

Related posts