ताजा खबर

कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्व एकजुट हुन आव्हान

पोखरा, ११ जेठ ।

कास्कीका क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यस कदम विरुद्व एकजुट हुन आव्हान गरेका छन् ।

नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जसपा कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ र राजमो कास्कीका कोषाध्यक्ष विष्णु पूरीले मङ्गलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो आव्हान गर्नुभएको हो ।

विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गरेको ठहर गरिएको छ ।

प्रतिनिधि सभालाई रातारात विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र र प्रतिगमनकारी कार्य गरेको भन्दै निन्दा र भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक दायित्व निर्वाह नभएको र उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा वद्नियतपूर्ण प्रतिनिधि सभा विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको उल्लेख छ ।

प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुविकरण र जटिलतातर्फ धकेलिएको भन्दै निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवनलाई झन् गम्भीर संकटमा धकेलिदिएको जनाइएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *