
पोखरा १०, जेठ
दोश्रो पटक पुनःप्रतिनिधिसभा विघटन भएको बिषयलाई लियर कास्कीका ६ वटा युवा संगठनले बिरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवि भण्डारीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै कास्कीका ६ राजनीतिक दलका युवा संगठनले संयुक्त रुपमा प्रेस विज्ञेप्ति जारी गर्दै बिरोध जनाएका हुन् ।
प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको आफुहरुले बिरोध जनाएको योङ कम्युनिस्ट लिग कास्कीका अध्यक्ष भोजराज पौडेलले बताए । योङ कम्युनिस्ट लिग कास्की अध्यक्ष पौडेल, सहित नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, युवा संघ नेपाल कास्कीका अध्यक्ष असिम गुरुङ, समाजवादी युवा संघ कास्कीका अध्यक्ष लक्ष्मण गुरुङ, अखिल नेपाल युवा संघ कास्कीका अध्यक्ष विक्रम थापा र विवेकशील साझा युवा संगठनका अध्यक्ष विजय पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञेप्तिमा कोरोनाको महामारीको वेलामा गम्भिर नभई राष्ट्र र जनताप्रति ठूलो धोका दिएको आरोप लगाएका छन् ।
देशलाई संवैधानिक संकटको दिशामा धकेल्नका लागि शेरबहादुर देउवाको नेतृत्वमा रहेको १ सय ४९ जनाको हस्ताक्षर सहितको दाबीलाई स्वीकार गर्न नसकिने जानकारी दिनु बदनियत पूर्ण किसिमले प्रतिनिधिसभा विघटन गरी नेपालको संविधान लोकतन्त्रमाथि नै प्रहार भएको विज्ञेप्तिमा उल्लेख छ । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सम्पूर्ण कस्केली युवा एकजुट भई अगाडि बढ्न यृुवा संगठनले आग्रह गरेका छन्।