पोखरा ८, जेठ
पत्रकार गणेश पौडेलको स्मृतिमा शुक्रबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्र, कास्की शाखा र प्रेस संगठन लगायतका विभिन्न संघ संस्थाले शुक्रबार उनको निवासमै पुगेर श्रद्धान्जली सभा गरेका हुन्।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल,महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस संगठन कास्कीका संयोजक सन्देस श्रेष्ठ सहितको टोलीले पत्रकार पौडेलले पत्रकारिता क्षेत्रमा पुराएको योगदानको पं्रशम्सा गर्दै उनको योगदानलाई सदा स्मरणयोग्य बनाउन पहल गर्ने जनाए ।
उक्त अवसरमा महासंघ कास्कीका अध्यक्ष भण्डारीले पौडेल कर्मठ, निडर पत्रकार भएको
स्मरण गरिन् । उनले पौडेलको निधनले पत्रकार महासंघ र पत्रकारिता जगतलाई नै अपूरणीय
क्षति पुर्याएको बताइन् ।
उक्त अवसरमा महासंघका पदाधिकारी, कार्यसमिति सदस्यका साथै अन्य पत्रकारहरु पनि सहभागी थिए । पत्रकार पौडेलको वैशाख २९ गते बिहीबार निधन भएको थियो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा छन् । पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । पौडेल पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत थिए ।
यसैबिच गण्डकी प्रदेशका सांसद दीपक कोइराला, अग्रज पत्रकार कोमलनाथ बराल सहितको टोली समेत पत्रकार पौडेलको निवास पोखरा ३३ बागमारामा पुगेर श्रद्धान्जली व्यक्त गरेका थिए ।