ताजा खबर

निषेधाज्ञाकै समयमा पोखरा फुटबल स्टेडिएमको बाँकी कामको निर्माण सुरु

आफ्नो जिम्मेवार वहन गर्न रंगशालाका अधुरा काम निषेधाज्ञामै सुरु गरेका हौंःराखेप सदस्य गुरुङ

डि.एन.बी.
पोखरा ३१, वैशाख

पोखरा फुटबल स्टेडिएमको बाँकी रहेको निर्माण कार्य पोखरा सहित कास्कीमा हाल जारी निषेधाज्ञाकै समयमा सुरु भएको छ । कोरोनाको समयमा विकास निर्माणलाई आफुहरुले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी पोखरा रंगशालाको अधुरा काम यही समयमा सुरु गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए ।

उनले भने “ म यस क्षेत्रको प्रतिनिधि भएको नाताले पनि कोरोना कालमा रंगशालामा र प्रदेशका ११ जिल्लामा भएका ठुला लगानीका खेलकुदका भौतिक संरचनाको अबस्थाको बारेमा बुझेर बाँकी रहेका कामलाई अघि बढाउन खोजेको छु । ” रंगशालामा हाल भारत तथा बद्रीया सहितका करिब २५ जना मजदुरहरु कोरोनाकै समयमा अनिवार्य रुपमा पिसिआर परिक्षण गरेर नेगेटिभ नतिजा आएकाहरुलाई काममा लगाइएको सदस्य गुरुङले बताए । राखेपले उनलाई प्रदेशका खेलकुदको भौतिक संरचनाहरुको रेखदेर र व्यबस्थापनको लागि जिम्मा दिएसंगै कोरोना कालमै केही नतिजा आउने गरी काम गर्ने लक्ष्यका साथ अघि बढेको गुरुङले जनाए ।

ट्रस सहितको छानो हाल्ने काम डेढ महिनामा सकिने ठेक्दार कम्पनीका बरालको दाबी

पोखरा फुटवल स्टेडिएमको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएकोे निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई.दीपक बरालले बताए । उनका अनुसार हाल प्रि—इन्जिनीयरिङ विल्डिङ(पिईबी) र ट्रस सहितको छानो हाल्ने काम सुरु भएको छ । २५ जना मजदुर सहित क्रेनको सहायतामा उक्त निर्माण कार्य सुरु भएको इं बरालले बताए । भिआईपि प्यारापिट तर्फको भागमा करिब ६६ मिटर वाई १२ मिटरमा छानो हाल्न डेढ महिना जसो लाग्ने भएको इ.बरालले जनाए । उक्त फुटवल स्टेडिएमको अन्तिम फिनिसिङ गर्न छानो सहित सौचालय सहितको काम सक्न करिब ६ महिनाको समय सिमा लाग्ने भएको उनले जनाए ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समयमा सक्नु पर्ने उक्त योजना प्राविधिक कारणले गर्दा ढिलाई भएकोमा गत बर्ष पनि कोरोनाले गर्दा प्रभावित भएको निर्माण कार्य यस बर्ष भने कोरोनाको बाबजुत आफुहरुले निर्माण कार्य अघि बढाएको बरालले जनाए ।

पोखरा रंगशालाको चारै तर्फ गरी हालसम्म १६ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको हरियो दुवोको फुटवल मैदान तयारी अबस्थामा रहेको म्यानेजर इ. बरालले बताए । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी.) कम्पनीले उक्त प्रोजेक्ट एक अर्ब २८ करोडको लागतमा निर्माण गर्ने गरी जिम्मा लिएको हो ।

नवौं राष्ट्रिय खेलकुद सम्भवत गण्डकी प्रदेशमा हुने भएकोले गर्दा निषेधाज्ञामा पनि उक्त पोखरा फुटवल स्टेडिएम निर्माण कार्य अघि बढेको राखेप सदस्य गुरुङले जनाए ।

Related posts