पोखरा २१, वैशाख
नेपाल पत्रकार महासंघ कास्की शाखाले सोमबार पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोनाको दोश्रो लहर बढ्दै गएका वेला केही संघ संस्थाहरुको सहकार्यमा थोरै भए पनि पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्रि उपलब्ध गराइएको महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताइन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार पत्रकारको सुरक्षाको लागि सेनिटाइजर र मास्क करिब २ सय पत्रकारलाई वितरण गरिएको थियो भने नविकरण गरिएका पत्रकार परिचयपत्र १ सय १८ जना पत्रकारलाई वितरण गरिएको सचिव माधव बरालले एटुजेटलाई बताए ।
स्वास्थ्य सामाग्री र परिचय–पत्र पाउन छुटेका पत्रकारहरुले पत्रकार महासंघ कास्कीको कार्यालयबाट आफ्नो अनुकुलमा लिन सक्ने भएको उनले जनाए ।
कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी थिइन्। “राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा मिलोस्, स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक शुभकामना अर्पण गर्दछु” उनले भनिन्।
नेलम्वो नेपालले पत्रकार महासंघ कास्कीलाई उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो। विश्व स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आवश्यकता अनुसार पत्रकारहरुको जोखिम न्यूनिकरणका लागि थप स्वास्थ्य सामाग्री निरन्तर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए।
कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नगरि पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामाग्री वितरण गरिएको र फिल्डमा काम गर्न असहज नहोस् भनी पत्रकार परिचयपत्र वितरण गरिएको सचिव बरालले जनाए ।
पत्रकार महासंघ कास्कीले कोरोनाको उच्च जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरी स्वास्थ्य सामाग्री र महासंघ कास्कीका सदस्यहरुलाई नविकरण गरिएको परिचयपत्र वितरण गरेको थियो।
अघिल्ला वर्षहरुमा पत्रकार महासंघमा नविकरण गरिएका कार्डहरु केन्द्रबाट छपाई गरी आउदा ढिला भएका गुनासाहरु रहँदै आएको थियो। अहिले भने कास्कीबाटै उपलब्ध गराइनु “सही समयमा सही काम गरेको” पत्रकारहरुले बताएका छन्।