ताजा खबर

अन्नपूर्ण द राउण्ड टेबल ः विकासको मोडालिटीलाई परिवर्तन गर्नुपर्नेमा जोड

बैशाख १३, पोखरा ।

पोखरा महानगरको विकासको मोडालिटीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । सोमबार रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको कार्यक्रम द राउण्ड टेबलमा वक्ताहरुले अब सन्तुलित विकासको आवश्यकता रहेको औंल्याएका छन् ।

पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्र प्रसाद तिवारीले विकासको महत्वलाई पाँच भागमा विभाजन गरे । उनका अनुसार ज्ञानको निर्माण, भौतिक वस्तुको वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धि, समावेशिता तथा शान्ति अथवा स्वतन्त्रताको महत्वको लागि विकास आवश्यक छ । उनले सर्वसाधारण, राजनीतिक दल र विज्ञले गर्ने विकासको व्याख्या फरक भएको उल्लेख गरे । तिवारीले विकासको अनुगमन र सुधारप्रणाली सशक्त नहुँदा समस्या भएको बताए । उनले भने,“ पञ्चयातको बेलाको विकासको अवधारणा र अहिलेको विकासको अवधारणा उस्तै छ । विकासका लागि पुरानै शैली अप्नाइएको छ ।” तिवारीले ठाउँ अनुसारको विकासका आयोजनाका कार्यक्रमहरु तय गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकार र नीजि क्षेत्रको समन्वयमा नै विकासले गति लिने बताए । उनले विकासका योजनालाई भू—उपयोग, इन्भेष्टमेण्ट प्लान र आर्थिक गरी तीन भागमा विभाजन गरेका छन् ।

पोखरा महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले विकासलाई नै गलत तरिकाले बुझिएको बताए । उनले भने,“हामीले विकासलाई गलत तरिकाले बुझेका छौं । पहिलो पंचवर्षिय योजना देखि १५ औं पंचवर्षिय योजना सम्म आइपुग्दा पनि विकासको परिभाषालाई बुझ्न सकेका छैनौं । विकासलाई भौतिक पूर्वाधारको रुपमा मात्र बुझ्न उचित हुँदैन ।” विकास भनेको आधारभूत आवश्यकता पूर्ति गर्ने खालको हुनुपर्नेमा उनको जोड छ । चाहेको पेशा सहज र सरल तरिकाले गर्न पाउने गरी विकासका अवधारणाहरु आउनुपर्ने तर्क उनको छ । स्वयम आफ्नो बारेमा चिन्ता नभएसम्म विकास असम्भव रहने उनले बताए ।

उनले पोखरा महानगरले ४६ प्रतिशत बजेट प्रशासनिक खर्चका लागि र बाँकी ५४ प्रतिशत बजेट क्रमागत योजनाका लागि छुट्याउँदै आएको जानकारी गराए । जसमा नयाँ योजनाका लागि मात्र १० देखि १५ प्रतिशत बजेट विनियोजन हुने गरेको उनले बताए । लामिछानेले पोखराको विकासका लागि अब सफ्टवेयर बिजनेसको आवश्यकता रहेको उल्लेख गरे । अब पोखरा डिजीटल मार्केटिङमा जानुपर्नेमा उनले जोड दिएका छन् । उनले अबको ५ वर्षमा पोखराले विकासमा चरम परिवर्तन ल्याउने दाबी गरेका छन् ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले प्राकृतिक रुपमा पोखरा सुन्दर हुँदाहुँदै पनि विकासमा सोचेजस्तो प्रगती हुन नसकेको बताए । उनले पोखराको विकासका लागि यहाँ भएका सम्पूर्ण क्षेत्रलाई साझा रुपमा लैजानुपर्ने धारणा राखे । गिरीले अबको विकास सन्तुलित तवरको हुनुपर्ने बताए । राजनीतिक पहुँचका आधारमा आयोजना छनोट हुनु गलत भएको बताउँदै गिरीले आवश्यकताका आधारमा विकासका आयोजना छनोट हुनुपर्नेमा जोड दिए ।

गिरीले भने,“ नीजि क्षेत्र विकासको साझेदार हो । नीजि क्षेत्र विना सरकार चल्दैन । आर्थिक, भौतिक विकासका लागि पनि सरकारले नीजि क्षेत्रसँगै समन्वय गरेर अगाडि बढ्नुको विकल्प छैन ।” उनले नीजि क्षेत्रलाई निर्वाध रुपमा काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । लेखनाथमा बन्ने भनिएको सबै विकास आयोजना कुरामा मात्रै सिमित रहेको बताउँदै उनले सरकारलाई चाँडै भन्दा चाँडै उक्त आयोजनालाई सुचारु गर्न आग्रह गरेका छन् । लेखक तथा अध्येता भानु पराजुलीले विकास र वृद्धिलाई छुट्याउन नसक्दा समस्या आएको बताए ।

उनले राजनीतिक पूर्वाग्रहले विकास हुँदा भनेजस्तो प्रगती हुन नसकेको बताए । उनले आयमुलक रोजगारीको विकास हुनुपर्नेमा जोड दिएका छन् । गरिबका लागि बसपार्कको राम्रो सुविधा नहुने तर एयरपोर्टका विषयमा मात्र पोखरामा बेलाबेलामा आन्दोलन भइरहने प्रवृति राम्रो नभएको उनले उल्लेख गरेका छन् । विकासको आलोचनात्
मक रुपमा विश्लेषण हुन नसक्दा सोचेजस्तो प्रगती हुन नसकेको तर्क उनको छ । पराजुलीका अनुसार पोखराका विकासका लागि कृषि र पर्यटन क्षेत्र नै प्रमुख आधार हुन् । “पोखराका उत्पादनमुखी जग्गा घडेरीमा परिवर्तन हुनुहुँदैन”,उनले भने ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *