समाचारकक्ष
बैशाख १२, पोखरा
रेडियो अन्नपूर्णको २० औं वार्षिकत्सव सम्पन्न भएको छ । आइतबार रेडियो परिसरमा शुभकामना आदानप्रदान सहित वार्षिकत्सव कार्यक्रम मनाइयो ।
रेडियो अन्नपूर्णले वर्षभरि आयोजना गरेको विभिन्न कार्यक्रमका संयोजकहरुलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नयाँ पुस्तामा नारायण गोपाल कार्यक्रमका संयोजक सन्तोष बस्याल, १९ औं वृहत रक्तदान कार्यक्रमका संयोजक दिननाथ बराल र नयाँ वर्षमा मुक्तक कार्यक्रमका संयोजक कृष्ण देवकोटा रहेका छन् ।
सोही अवसरमा १९ औं वृहत रक्तदान कार्यक्रममा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै रेडियो अन्नपूर्णकर्मी शोभा नेपाल र सबिन रेग्मीलाई मायाको चिनो सहित सम्मान गरिएको छ ।
यस्तै कार्यक्रममा रेडियो अन्नपूर्णकर्मीहरु नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य सरिता तिम्लिसिना पंगेनी, गण्डकी प्रदेश परिषद सदस्य दिननाथ बराल, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष कन्चन थापा कोइरालालाई बधाई ज्ञापन गरिएको छ । सोही अवसरमा रेडियोका वरिष्ठ प्रस्तोता आर्जुबिष्ट सल्यानीलाई रेडियो कार्यक्रमको उत्पादक तथा अनलाईन अन्नपूर्ण न्यूज डटकमको जिम्मेबारी सुम्पिएको छ । विष्टले रेडियो अन्नपूर्णको इतिहासलाई स्मरण गर्दै आफुलाई दिएको जिम्मेबारीलाई समाज रुपान्तरणका लागि प्रयोग गर्ने बताए । रेडियो र अनलाइनलाई अझ प्रभावकारी ढंगले संचालन गर्नेमा उनी प्र्रतिबद्ध छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले रेडियोको गरिमालाई यहाँ सम्म पुर्याउन कर्मचारीको भूमिका अब्बल रहेको बताए । उनले भावी समयमा आफुहरु मल्टीमिडियामा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले विगतका वर्षमा गरेका सामाजिक कामहरुको विषयमा जानकारी गराउँदै आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने बताइन् । रेडियोका स्टेशन म्यानेजर संजय मल्लले रेडियो अन्नपूर्णको साग उच्च राख्ने गरी नयाँ कार्यक्रम थप्ने बताए ।
पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष गोर्कण कार्कीले रेडियो प्रति आम स्रोताको विश्वास रहेको र सो विश्वासलाई मर्न नदिने गरी कार्यक्रमहरु प्रस्तुत गर्न आग्रह गरे । रेडियो अन्नपूर्णकर्मी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पंगेनीले श्रमजीवी पत्रकारहरुको हकहितका लागि आफु लड्ने बताइन् । कार्यक्रममा मार्केटिङ डिपार्टको तर्फबाट रेडियोका लेखा प्रमुख अगन्धर सुवेदीले समेत शुभकामना मन्तव्य राखेका थिए । रेडियोले पहिलो पटक क्यालेण्डर विमोचन समेत गरेको छ । आज भन्दा २० वर्ष अघि २०५८ सालमा प्रकाश सायमीको नेतृत्वमा रेडियो अन्नपूर्णको स्थापना भएको थियो ।