ताजा खबर

पोखरा खपौंदीको प्रति जग्गा संरक्षणमा वडा अध्यक्ष सहित स्थानिय जुटे

डि.एन.बी.
पोखरा ८, वैशाख

प्रति जग्गा संरक्षणमा पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापा सहित स्थानिय जुटेका छन्। पोखरा १८ स्थित खपौंदीको अलैचे ढाँडमा अतिक्रमण भएको ७ रोपनी जग्गा संरक्षणको लागि वडा अध्यक्ष थापा सहित स्थानिय बुधबार एक जुट भई प्रति जग्गामा निर्माण भएको पर्खाल (बाण्डो) भत्काई दिएका हुन्।

करिब एक सय मिटरको पर्खाल बुधबार वडा अध्यक्ष थापा, स्थानिय एवं नगर प्रहरी सहितको टोलीले भत्काइएको फेवा पर्यटन विकास समितिका अध्यक्ष राम कुमार राईले बताए । प्रति जग्गा र सार्वजनिक जग्गा संरक्षणमा आफुहरु कटिवद्ध भएको उनले बताए । सार्वजनि जग्गा कुनै व्यत्तिले निजी स्वार्थको लागि प्रयोग गर्न नहुने उनले बताए । चन्द्र बहादुर गुरुङले प्रति जग्गा भएको नजिकै ७ रोपनी जग्गा किनेर बिक्रि गरी बाँकी करिब ४ आना मात्र जग्गा राखेर प्रति जग्गामा समेत आँखा लगाउने काम गरेको अध्यक्ष राईले जनाए ।

चन्द्र बहादुर गुरुङले प्रति जग्गामा अवैध रुपमा बाण्डो लगायसंगै केही दिन अघि यो क्षेत्रमा आगो लगाउदै त्यस क्षेत्रका वुट्यान समेत नष्ट पारेका वडा अध्यक्ष थापाले बताए । प्रति जग्गा अतिक्रमण गर्ने र प्रति जग्गामा आगो लगाउने गुरुङलाई आवश्यक कारवाही समेत अघि बढाइएको अध्यक्ष थापाले बताए । ५ सय ६८ किक्ता नम्बरको प्रति जग्गामा हाल ठुला ठुला ढुंगा र केही रुख विरुवाहरु भएकोले प्राकृतिक रुपमा समेत सो क्षेत्र महत्व भएको स्थानिय रामजी बहादुर ढकालले बताए । ढकालथर टोल विकास संस्थाका अध्यक्ष समेत रहेका स्थानिय रामजी बहादुर ढकालले होटल माउण्टेन टपका संचालक चन्द्र बहादुर गुरुङले प्रति जग्गामा भौतिक संरचना बनाउने उद्धेश्यले बाण्डो सहित आगो लगाउने काम भएको दाबी गरे । प्रति जग्गा संरक्षणमा आफुहरु समेत जुटेको बताएका उनले सार्वजनिक तथा प्रति जग्गा अतिक्रमणकारीलाई समाजमा जो कसैले स्थान दिन नहुने उनको भनाई थियो ।

त्यस्तै चन्द्र बहादुर गुरुङले आफुले करिब २० बर्ष अघि झपटे सार्कीसंग उक्त जग्गा समेत लिएको आधारमा हाल कोदो रोप्नको लागि पर्खाल निर्माण सहित आगो लगाएको बताए । प्रति जग्गा आफ्नो नाममा दर्ता गराउने भनि वडा कार्यालयमा सार्की सहित आफुले निवदेन दिएको उनले जनाए ।

Related posts