ताजा खबर

नयाँ बर्षमा प्रविधिमैत्री जाउँ है पोखरा

पोखरा, ३० चैत ।

पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक नयाँ बर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिंदै जाउँ है पोखरा अभियान संचालन गर्ने भएको छ । कोभिड– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान संचालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ– “हाल सघंले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रा।लि।सँग सहकार्य गरी “यो नयाँ वर्ष जाउँ है पोखरा” भन्ने दुई दिने डिजिटलमैत्री अभियान संचालन गरेको छ । जस अन्तरगत ५५ वटा बैंक तथा वित्तिय संस्थामा आबद्ध १ करोड साठी लाख ग्राहक सम्म पुगी अभियानले सार्थकता पाउने विश्वास रहेको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न संघले नयाँ वर्षको अवसरमा २०७७ चैत्र ३१ गते र नयाँ वर्ष १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यू आर कोड मार्फत भुुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा चालिस प्रतिशत छुट र क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिनेछन् ।”

यसैगरी नयाँ वर्षको अवसरमा पोखरामा रहेका होटल प्रतिष्ठानहरुले छुट्टा छुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेजहरु सार्वजनिक गरेको र ती बाट समेत लाभ लिन संघले आग्रह गरेको छ । पोखरा र यस वरपरको पर्यटन प्रबद्र्धनका लागि संघले विगत लामो समयदेखि फेवा नव बर्ष महोत्सव आयोजना गर्दै “पर्यटन, संस्कृति र खाना” लाई जोड दिई १६ औं संस्करणको महोत्सव सम्पन्न गरी सकेको समेत स्मरण गराइएको छ ।

सन् २०२० को डिसेम्बर अन्त्यबाट चीनको युनान प्रान्तबाट सुरु भएको कोभिड १९ ले नेपाल समेत नराम्रो गरी प्रभावित हुन पुग्दा गत बर्षको चैत ११ देखि सुरु भएको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भई होटल क्षेत्रले ठूलो क्षती व्यहोर्नु परेको र सरकारद्धारा होटल तथा पर्यटन व्यवसाय संचालनको लागि अनुमति दिएता पनि अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन अत्यन्त न्यून भएको संघले जानकारी दिएको छ ।

हालको आन्तरिक पर्यटकको आगमन हेर्दा पर्यटन व्यवसाय पुरानो लयमा फर्कन केही वर्ष लाग्ने निश्चित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कोभिडको महामारी कायम रहेकोे कारण नेपाल सरकारले भिडभाडजन्य गतिविधि, मेला महोत्सव आयोजना नगर्न र स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाउन गरेको अनुरोधलाई पालना गरी भौतिक महोत्सव स्थगित गरिएको भए पनि नयाँ वर्षको अवसरमा पोखरा आगमन हुने पर्यटकहरुलाई सदा झै सेवा सुविधा प्रदान गर्दैै आतिथ्यता प्रदान गरिने भन्दै संघले पोखरा भ्रमणका लागि अनुरोध गरेको छ ।

सरकारद्धारा लकडाउनको अन्त्य तथा होटल तथा पर्यटन व्यवसाय संचालनका लागि अनुमति दिए सँगै आन्तरिक पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा आर्थिक चलायमान बनाउन संघले भारतीय पर्यटक आगमन हुने पूर्वी नेपालका मुख्य शहरहरु विरगंज, विराटनगर र जनकपुर तथा पश्चिम नेपालका मुख्य शहरहरु नेपालगंज, धनगढी र महेन्द्रनगरमा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि जाउँ है पोखरा अभियान सम्पन्न गरेको पनि स्मरण गराएको छ । कोभिडका कारण उत्पन्न यस विषम परिस्थितिमा होटल प्रतिष्ठानहरुले स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाउँदै होटल संचालन गरिरहेका र सुखद भविश्य प्रति आसावादी हुँदै नेपाली नयाँ बर्ष २०७८ को सबैमा हार्दिक शुभकामना समेत संघले व्यक्त गरेको छ ।

Related posts