ताजा खबर

कास्कीका पत्रकार सहित उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु

समाचारकक्ष
पोखरा, ९ चैत

कास्कीका पत्रकार सहित उनका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने अभियान सुरु भएकोे छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य बीमाको अभियान सोमबार देखि सुरु गरेको हो ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतीक, उनकी श्रीमती महासंघका सदस्य समेत रहेकी सावित्री खनाललाई स्वास्थ्य बिमा कार्ड पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हस्तान्तरण गर्दै उक्त अभियानको शुभारम्भ गरेका हुन्। कास्कीमा आवद्ध ३ सय पत्रकार र उनका परिवारको समेत स्वास्थ्य बीमा निशुल्क रुपमा गरिने भएको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । पत्रकार सहित उनका परिवारका ५ जना सदस्यको लागि उत्त बीमा गरीने भएको छ भने प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय रुपैया महासंघ कास्कीले उपलब्ध गराउने भएको सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।

स्वास्थ्य बीमाबाट बर्ष सम्म १ लाख सम्मको औषधि उपचार खर्च पाइने भएको हो । ५ जना भन्दा बढि भएमा प्रत्येक व्यक्तिको ७ सय रुपैया थप लाग्ने भएको छ । थप एक जनाको थपिदा बीमा बापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने भएको छ । यही चैत २० गते सम्म निशुल्क स्वास्थ्य बीमा अभियान संचालन हुने भएको महासंघले जनाएको छ । महासंघ कास्कीका कोषाध्यक्ष संजय मल्लको संयोजकत्वमा कठित स्वास्थ्य बीमा परामर्श समितिले गरेको सिफारिसको आधारमा स्वास्थ्य बिमा वोर्डबाटै बिमा गराउन लागिएको हो । समितिको सदस्यमा सहसचिव दीननाथ बराल र सदस्य सुरज श्रेष्ठ रहेका थिए । महासंघ कास्कीले यस अघि कास्कीका पत्रकारको कोरोना बीमा समेत गराएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अझै पनि बीमाको बारेमा धेरै समस्या भएकोले यसको बारेमा बुझ्न र बुझाउनु पर्ने बताए । पत्रकार र उनको परिवारका लागि हुने स्वास्थ्यको बिषयलाई महानगरले साथ दिएको उनले बताए । स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेलले गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्ला स्वास्थ्य बीमा अभियान संचालन भएको बताए । ७० बर्ष माथिका, कुस्टरोगी, एचआइभि संक्रमित लगायतको निशुल्क बिमा हुने भएको उनले जनाए । पत्रकारहरुको सामुहिक बिमा गराउने अभियानले बीमामा थप सकरात्मक सन्देस जाने संयोजक खरेलले बताए ।

कार्यक्रममा प्रेस स्सेनानी माधम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ, प्रेस युनिय कास्कीका अध्यक्ष नविन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक अर्जुन गिरी, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र सचिब रामप्रसाद तिमिल्सिना लगायतले बिमा अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

Related posts