ताजा खबर

लुम्लेमा प्रविण गुरुङको स्मृतिमा सप्ता हव्यापी कार्यक्रम हुँदै

पोखरा, ५ चैत

लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ।

गाउँपालिकाको आयोजनामा हुने उक्त कार्यक्रम यहि चैत १५ गतेदेखि २१ गतेसम्म हुनेछ। कार्यक्रम अन्र्तगत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याडको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको व्यवस्थापन समितिमा सचिव राजु गुरुङले जानकारी दिए ।

लोकदोहोरी कार्यक्रमको व्यवस्थापन लुम्ले स्थित रिनी म्यू समाज तथा खेलकुद कार्यक्रमको संयोजन स्थानीय सुनगाभा युवा क्लवले गरिरहेका छन्।

दोहोरीतर्फ प्रथम हुने समूहले रु.२० हजार, द्वितीयले रु.१५ हजार, तृतीयले १० हजार तथा सान्त्वनालाई रु.६ हजार साथमा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।त्यस्तै भलिवलमा प्रथम रु.५० हजार ५ सय ५०, द्वितीय ३० हजार ५ सय ५०, तृतीय १५ हजार ५ सय ५० र सान्त्वना रु. ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै वेष्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको भलिवल संयोजक रोहित गुरुङले बताए।

स्वः प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो।

वि.स २०१८ माघ १ गते जन्मेका गुरुङको गीतसंगितको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।१० वर्षको उमेरबाट घर छाडी सांगीतिक यात्रामा निस्केका गुरुङले डाँफे कला मन्दिरमा नृत्य साथै गायन सिकेका थिए।

तत्कालिन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पाण्डव सुनारसँग सम्पर्क पश्चात राष्ट्रिय नाचघर काठमाण्डौमा काम पनि गरेका थिए।

स्वः गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथीबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु प्रचलित छन्।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *