
डि.एन.बी.
पोखरा २७, फागुन
गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दुई जनाको मात्र आवेदन परेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यही फागुन २६ गतेसम्मको लागि एक हप्ताको समय सिमा राखेर प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तोकिएको योग्यता पुगेका इच्छुक उमेदवारहरुले निवेदन दिन आव्हान गरेकोमा दुई जनाको मात्र आवेदन परेको मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए ।
पूर्व राष्ट्रिय खेलाडी तेज बहादुर गुरुङ र पूर्व खेलाडी नवराज अधिकारीको मन्त्रालयमा परिषदको सदस्य सचिवको उमेदवारीको रुपमा निवेदन दिएका हुन्। नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डवल महासंघका उपाध्यक्ष, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष सहित विभिन्न खेल संघहरुमा आवद्ध ह्याण्डवल खेलका पूर्व राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक समेत रहेका गुरुङले ७ बुंदे आफ्नो कार्ययोजना सहित आवेदन दिएका छन्।
२०४० सालमा पोखरामा भएको बृहत खेलकुदमा ह्याण्डवलमा स्वर्ण पदक हात पार्न सफल गुरुङ मित्र राष्ट्र जोड्नमा सन् १९८८ मा भएको चौथो एसियन च्याम्पियनशिप सहभागि भएका थिए भने ४ बर्षसम्म नेपाली ह्याण्डवलको कप्तान सम्हालेका थिए । २६ वटा राष्ट भ्रमण गरेका गुरुङले मन्त्रालयले माग गरे अनुसारको आवश्यक डकुमेन्ट पेश गरेको उल्लेख गरे । उत्कृष्ट खेलाडी उत्पादनमा जोड जसमा ७ वटा कार्यक्रमहरु पेश गरेका गुरुङले सवैको लागि खेलकुदमा ६ वटा कार्यक्रम समेटेका छन् । त्यसै गरी शिक्षा र खेलकुदमा ५ कार्यक्रम, श्रोत परिचालन जसमा ६ कार्यक्रम, सुसासन, क्षमता अभिबृद्धि र पूर्वाधार निर्माण जस्ता कार्यक्रमहरु आफ्नो कार्ययोजनामा पेश गरेको पूर्व राष्ट्रिय खेलाडी गुरुङले जनाए ।
गाँउ पर्यटन प्रबद्र्दन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्व क्षेत्रिय स्तरका भलिवल खेलाडी अधिकारीले ३० बुंदे आफ्नो भावी कार्ययोजना समेत मन्त्रालयमा सदस्य सचिव पदको लागि आवेदन दिएको बताए । आफु पूर्व भलिवलको खेलाडी भएको र मन्त्रालयले माग गरे अनुसारको योग्यता पुगेको हुदा आफ्ले खेलकुदलाई स्वास्थ्य, पर्यटनसंगै जोडेर अघि सार्ने गरी कार्ययोजना पेश गरेको उनले जनाए ।
खेलाडीहरुको जीवीको पार्जन गर्न, बार्षिक रुपमा करिब ५ सय खेलाडी उत्पादन गर्न, प्लस टु पास गर्ने ले कुनै एक खेलकुद बिषयमा समेत अध्ययन गर्नुपर्ने, मनाङ र मुस्ताङमा हाइ अल्टिच्यूट खेलकुद ट्रेनिङ सेन्टर स्थापना गर्ने, मुख्यमन्त्रीसंग खेलकुद, खेलकुद भ्रमण बर्ष मनाउने, प्रदेशमा खेलकुद स्कुल स्थापना गरी सवै खेलकुदको एकेडेमी स्थापना गर्ने लगायतको योजना रहेको अधिकारीले जनाए । खुल्ला प्रतिष्प्रर्धा भएकोले गर्दा प्रदेश सदस्य सचिवको लागि आवेदन दिएको बताएका अधिकारीले आफु भन्दा योग्य व्यत्ति छनौट भएमा पनि उसलाई आवश्यक सहयोग गर्ने जनाए ।