
डि.एन.बी.
पोखरा २२, फागुन
कोरोना भाइरसको प्रभाव विस्तारै नेपालमा कम हुदै गएसंगै विभिन्न संघ संस्थाहरुले हिउँदको समयमा सार्वजनिक बिदाको दिनमा बनभोज खाने प्रचलन पछिल्लो समयमा बढेको छ ।
शनिबार पोखरा ११ को काहुँ धराहरमा बनभोज खानेहरुको भिड नै लागेको थियो । पर्यटकीय गाँउ काहुँधराहरामा बनभोज खानेको शनिबार हालसम्मकै बढी भिड भएको काहुँकोट देउराली मन्दिर तथा धराहरा संरक्षण समितिका अध्यक्ष इन्द्र बहादुर गुरुङले एटुजेटलाई बताए ।
सानो ठुला गरी शनिबार एकै दिनमा १७ वटा टिम बनभोज(पिकनिक) खान उक्त स्थालमा पुगेको अध्यक्ष गुरुङले बताए । बनभोज खान आउने सानो टिमबाट एक हजार ५ सय र ठुलो टिमबाट ३ हजार शुल्क लिने गरेको उनले जनाए । काहुँडाँडमा हाल निर्माणको क्रममा रहेको बुद्धमण्डलाको खुल्ला मैदान, समितिको जग्गा देखि निजी केही व्यत्तिको खाली जमिनमा बनभोज खाने र रमाइलो गर्नेको भिडभाड शनिबार बढेको थियो ।शनिबार करिब ४ हजार जना बनभोज तथा काहुँ डाँडा परिपरि घुमघाममा निस्केको अध्यक्ष गुरुङले जनाए ।
पोखराको मुख्यबजार देखि नजिक रहेको र दृश्यावलोकनको लागि पनि अति उत्तम स्थल काहुँ डाँडा भएकोले आफुहरुले शनिबार काहुँडाँडामा बनभोज कार्यक्रम आयोजना गरिएको एक सहकारीका अध्यक्ष मीन गुरुङले बताए ।