ताजा खबर

पोखरा बन्नुमा बाहिरबाट आएकाको योगदान ः मन्त्री चुमान

पोखरा, २२ फागुन ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखरा बनाउनुमा जिल्ला बाहिरबाट आएका मानिसहरुको योगदानले सम्भव भएको बताएका छन् ।

पाल्पाली समाज पोखराको शनिबार १८ औं साधारणसभा तथा १० अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री चुमानले सो कुरा बताएका हुन् । उनले पाल्पाली समाजले गरेका गतिविधिको अन्यले पनि सिको गर्नुपर्ने सुझाव दिँदै विगतमा पाल्पामा घुमेको स्मरण गरे ।

पूर्व मन्त्री एवं वरिष्ठ उद्योगपति एवं समाजसेवी हरि पाण्डेले पाल्पा जन्मस्थल भएको नाताले आफूले छात्रवृत्ति कार्यक्रम ल्याएको जानकारी दिँदै मातृभूमिको लागि केही न केही गर्नुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हिजोको वैभवशाली पाल्पा पछिल्लो समय एक्लिदै गएको बताउँदै पाल्पाको विकासका लागि समाजको महत्वपूर्ण भूमिका हुने बताए ।

सो अवसरमा समाजको हितमा आ–आफ्नो क्षेत्रमा रहेर योगदान पु¥याएकोमा ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा समाजमा सल्लाहकार जनपुकार मुनंकमी, महेश रानाभाट, चन्द्रप्रसाद काफ्ले, श्याम कुँवर, खेम सारु, निवर्तमान अध्यक्ष बावुराम खनाल र पे्रस सल्लाहकार विजय नेपाल छन् ।

सो अवसरमा समाजबाट प्रकाशित पाल्पाली स्मारिका ‘पाल्पाली चौतारो–२०७७’ मन्त्री चुमानले विमोचन गरे । स्मारिका सम्पादक विजय नेपालले स्मारिकामा ४४ जनाको लेखरचनासहित समाजको गतिविधि समेटिएको भन्दै प्रकाशनबारे जानकारी दिएका थिए । श्याम कुँवर संयोजक रहेको स्मारिका प्रकाशन उपसमितिमा विजय नेपाल तथा सदस्य खेम सारु, भरत कोइराला, केशव नेपाल र अनिता घिमिरे छन् ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको समारोहमा सम्मानित व्यक्तित्वतर्फबाट जनपुकार मुनंकमी, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार डा. यज्ञमान शाक्य, पूर्व अध्यक्ष जगदीश गौतम, ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव लोकनाथ काफ्ले, सहकारीका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्सालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आफ्नो ३ वर्ष कार्यकालमा करिब ६५ कार्यक्रम गरेको जनाउँदै सहयोगीलाई मायाको चिनो प्रदान गरेका थिए ।

स्वागत प्रथम उपाध्यक्ष रेशम थापा रचक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए । बन्दसत्रमा महासचिव पराजुली र कोषाध्यक्ष सञ्जय आत्रेयले प्रतिवेदन पेस गरेका थिए ।

 

Related posts