ताजा खबर

अन्नपूर्ण “द राउण्ड टेबल” ः ‘नेपालको तल्लो बर्ग र मध्यम बर्गले अझै पनि लोकतन्त्रको आभाष गर्न पाएका छैनन्’

डि.एन.बी. ÷सन्तोष

पोखरा १७, फागुन

नेपालमा अझै पनि तल्लो बर्ग र मध्यम बर्गले लोकतन्त्रको आभाष गर्न नपाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रेडियो अन्नपूर्णको समसामाहिक बहसपूर्ण कार्यक्रम ‘द राउण्ट टेबल’ मा बोल्ने वत्ताहरुले उक्त कुरा बताएका हुन्।

तल्लो बर्ग र मध्यम बर्गका मुद्धा उठाएर सत्ता र शक्तिमा पुगेका नेताहरुले उनीहरुको हित हुने कार्यक्रम ल्याउन नसक्दा देशमा लोकतन्त्र आएपनि त्यसको आभाष हुन नसकेको वक्ताहरुले बताएका छन् ।

सोमबार रेडियोले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा २०४६ साल देखि नै जनताको अपेक्षाअनुरुपको विकास हुन नसकेको बताएका छन् । उनका अनुसार सत्तामा सासन गर्ने व्यत्तिहरुको क्रियाकलापले नागरिकले लोकतन्त्रको अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । नेपालको राजनीति पैसा र शक्तिको भरमा चलेकाले संस्कार र संस्कृति समेत भुल्दै जादा देशमा अराजक नेतृत्वहरुको हाबी हुँदै गएको भनाई उनको छ । चेतनाको विज केही सिमित तथा धनाड्य बर्गले मात्र लिने गरेको पूर्व अध्यक्ष मुल्मीको आरोप छ ।

पछिल्लो समय धनाड्यहरुलाई राजनीतिमा प्रवेश गराउँदा वर्षौ योगदान पुर्याएकाहरु पछाडी पर्नुपर्ने अवस्था नेपालमा सिर्जित भएको उनले बताए । उनको बुझाईमा राजनीतिमा विचारको भन्दा पनि व्यक्तिवादी लादिएको छ । मुल्मीले भनेका छन्, “पैसा तिरेर राजनीतिमा पद पाइन्छ भन्ने हाम्रो प्रवृति सुरु हुन थालेको छ, यसमा पुनः विचार गर्नु पर्छ । ” तीन तहका सरकारको समिक्षा ५ बर्षमा गरेर त्यसपछि सहि ढंगले अघि बढ्नुपर्ने मुल्मीको भनाई छ ।

राजनीतिक विश्लेषक विश्व सिग्देलले चेतना कमजोर हुँदा नेताका भाषाणमा अशिष्टता झल्किएको बताएका छन् । नेपालका राजनीतिक दलहरु व्यक्तिवाद स्वार्थमा लिप्त हुँदा जनताका मुद्धा थन्किएर बसेको उनको भनाई छ । सिग्दलले नेपालमा भारतको राजनीति र शिक्षाको मोडल प्रयोग भएको हुँदा यहाँको माटो र जमिन सुहाउँदो चेतनाको अभाव भएको बताए ।

संविधान नै नभएका देशहरुले राम्रो विकास गरेको उदाहरण दिँदै अहिले देशमा संविधानको कार्यान्वयनमै फितलोपन आएको भनाई उनले राखे । उनले जिम्मेवार, जागरुक र चेतनशिल नागरिक नहुँदाको उपज प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, कांगे्रस सभापति शेरबहादुर देउवा जस्ता नेता जन्माउनु परेको बताए ।

उनले भने, “ हामी असंवैधानिक कदम पनि भनेका छौं फेरि विभिन्न ठाँउमा भएका आन्दोलनमा पक्षदर बनेर उभिएका छौं । यसले हाम्रो चेतनाको स्तर कहाँ छ भन्ने स्पष्ट बुझाउँछ । गाली पनि गर्ने अनि भोज खान पनि नछोड्ने प्रवृति देशमा छ । जुन पार्टीको कार्यक्रम भए पनि त्यसको कुनै सोच बिचार र विश्लेषण विना हिड्ने हामी जनता पनि राजनीतिक अस्थिरताका दोषी हौं ।”

कांग्रेसले बहुबाद छाडेर जनयुद्ध, समाजबाद उन्मुख समाज तर्फको बाटोमा हिड्नुले कांगे्रसले आफ्नो पार्टीको मान्यता छाडेको विश्लेषक सिग्देलको भनाई छ । उनले नेपालका अधिकांश राजनीतिक दलहरु मुल्य विहिन अबस्थामा पुगेको टिप्पणी गरे ।

वरिष्ठ अधिवत्ता तिलक पराजुलीले संविधान माथि लात हान्ने प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको पदबाट तत्काल राजीनामा दिनु पर्ने भनाई राखे । उनले भने, “संविधान माथि ‘कु’ गर्ने प्रधानमन्त्री कुर्सीमा बस्ने अब कुनै नैतिक आधार छैन, प्रतिपक्ष दल कांगे्रसले संस्थागत निर्णय गरी प्रधानमन्त्रीको राजीनामा तत्काल माग्नुपर्छ ।”

पछिल्लो समय कांग्रेस प्रतिपक्षको भूमिकाबाट विचलित भएको तर्क उनको छ । नेकपाको सरकारलाई ट्रयाकमा ल्याउने जिम्मेबारी कांग्रेसमा हुँदा पनि केही गर्न नसकेको अरोप उनले लगाएका छन् ।

राजनीतिमा कम्युनिष्टहरुले कर्नरमै पु¥याएर गाली गलौज गर्ने पद्दती नै बन्दै आएको उनको भनाई छ । अर्कोलाई गाली नगरी आफु स्थापित भइन्न भन्ने गलत मानसिकताले गर्दा हिजोआज गालीमा असिस्ट शब्दहरु प्रयोग भइराखेको पराजुली पाउँछन् । उनका अनुसार पछिल्लो समय नागरिकले एजेण्डाका विषयलाई उठान गरेको विषय सबल पक्ष हो । भ¥याङ चढेर माथि पुग्ने अनि त्यही भ¥याङलाई टुक्राटुक्रा गरेर फाल्ने प्रवृतिले कम्युनिष्टमा अराजकता छाएको उनको भनाई छ ।

अग्रज पत्रकार एवं गजुरी व्यारेक ब्रेकर राजु क्षेत्रीले जनयुद्धकालमा समाज परिवर्तनका लागि लडेका कैयांै मानिसहरु अझै पनि पीडामा परेको र उनीहरुको जीवन स्तरमा खासै सुधार हुन नसकेको गुनासो गरे । उनले भने, “ जनताको अपेक्षा कहिले पुरा भएन, नेतृत्वमा गएका नायकहरु खलनायकमा परिणत भए । जनताको आसा र भरोसा अझै पुरा हुन सकेको छैन् ।”

२०७२ सालको संविधान जारी हुँदा ठाँउठाँउमा दिप प्रज्वलन गरिएपनि केही सिमित व्यक्तिको आर्थिक उन्नतिमा त्यसले संवोधन पाएको उनको तर्क छ । अधिकांश जनताले अपेक्षा गरेअनुरुपको संविधान नआएको उनले बताए । आफुसंगै चिसो व्यारेकमा १३ महिना बसेका केही साथीहरुको अझै सम्म पनि उचित ढंगले राज्यले रेखदेख पुराउन नसक्नु दुख लाग्दो परिस्थति भएको उनले उल्लेख गरेका छन् ।

रेडियो अन्नपूर्णकर्मी बासु मिश्रले संचालन गरेको कार्यक्रममा रेडियोका अध्यक्ष विश्व शंकर पालिखे, स्टेशन म्यानेजर संजय मल्ल, रेडियो अन्नपूर्णकर्मी आरजु विष्ट शल्यानी, सन्तोष बस्याल, नारायण कुँइकेल, सविन रेग्मी सहितको टिमको सहभागिता थियो ।

Related posts