
डि.एन.बी.
पोखरा १५, फागुन
पोखराको अर्चलवोट भलिवल प्रशिक्षक केन्द्रले स्व. महेश खड्का स्मृति क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालाको भलिवल कोर्टमा भएको फाइनल खेलमा केन्द्रले एजु युवा क्लव ढुंगेपाटनलाई ३—० को सोझो सेटमा पराजित गर्दै उपाधि सहित नगद २५ हजार पुरस्कार प्राप्त गरेको हो ।
उपविजेता भएको टोली एजु क्लवले भने ट्रफीको साथमा १५ हजार रुपैया प्राप्त गरेको हो । यस अघि उत्त फाइनल खेलको गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले रेफ्रिलाई बल हस्तान्तरण गरी खेलको शुभारम्भ गरेका थिए । प्रतिकुल मौसम (पानी परेको) कारण पुरुष तर्फको फाइनल खेल स्थगित भएको यूनाइटेड पोखरा क्लवका जापान गुरुङले बताए ।
स्याङजाको विधान स्पोटर्स क्लव मिरुवा र बागलुङको कलकोट युवा क्लव बिच आइतबार बिहान फाइनल खेल हुने भएको उनले जनाए । प्रतियोगितामा बिजेतालाई उपाधि सहित ८० हजार, उपविजेतालाई ५० हजार साथमा ट्रफी मेडल प्रमाणपत्र वितरण गरिने भएको छ । शुक्रबार सेमिफाइनल खेलका प्रमुख अतिथी गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल(जीवन)ले उत्त खेलले भलिवल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यत्त गर्दै आवश्यक सहयोग गर्ने जनाए ।
गाँउका खेलाडीहरुको प्रतिभालाई उजागर गर्न यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा आयोजना हुनु पर्नेमा उनको जोड थियो । प्रतियोगितामा पुरुष तर्फ १४ टिम र महिला तर्फ भने ६ टिमको मात्र सहभागिता रहेको क्लवका अध्यक्षअनिल गुरुङले बताए । प्रतियोगिता यही फागुन १२ गते देखि संचालन भएको थियो ।