ललितपुर, ७, फागुन
वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गर्नुभएको छ ।
नइ प्रकाशनबाट ललितपुरमा हालै आयोजित एका कार्यक्रममा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किष्ट मेडिकल कलेजलाई अर्पण गर्नुभएको जानकारी दिनु भयो ।
१०१ वर्षीय शताब्दी पुरुष डा।जोशी र ९६ वर्षीय श्रीमती राधादेवी जोशीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा उहाँहरूका छोरा अनुराज जोशीको सहमतीको समेत हस्ताक्षर रहेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा शताब्दी पुरुष डा।जोशीले ‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेको हो’ भन्नुभयो ।
सो सभामा प्रमुख अतिथि चिरीबाबु महर्जनले शताब्दी पुरुष डा।जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श हुनुहुन्छ भन्नुभयो ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त घोषणा सभामा किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा।डा।बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जोशीको महानता, सरलता र दुरशदर्शी भावनाको प्रशंसा गर्नुभयो ।