डि.एन.बी.
पोखरा २६, माघ
पोखरामा भोलि (मंगलबार) देखि टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिवल प्रतियोगिता २०७७ हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन खेल भने महिला तर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लव बिरुद्ध शसस्त्र प्रहरी वलको एपिएफ क्लव बिच हुने भएको छ ।
उद्घाटन खेल विहान १०ः०० बजे पछि हुने त्यस पश्चात महिला तर्फकै त्रिभुवन आर्मी बिरुद्ध न्यू डायमण्ड एकेडेमी बिच दोश्रो खेल हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ । मंगलबार तेश्रो खेल पुरुष तर्फ घरेलू टिम गण्डकी प्रदेश बिरुद्ध नेपाल पुलिस क्लव बिच हुने भएको टाइगर ग्रुपका सचिव प्रकाश बरालले बताए । कोरोनाबाट प्रभावित भएको खेलकुद क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले पोखरा रंगशालामा मंगलबार देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता हुने भएको ग्रुपका अध्यक्ष नारायण शर्माले बताए ।
प्रतियोगितामा महिला तर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाण्डौं रहेका छन भने काठमाण्डौंको न्यु डायमन्ड एकेडेमी रहेका छन्। बिच राउण्ड रोविनका आधारमा लिग हुने भएको छ । त्यसै गरी पुरुष तर्फ भने गण्डकी प्रदेश सहित तीन विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाण्डौं सहभागि भएका छन्। प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेश्रो हुनेलाई ३५÷३५ र शान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्टस्पाइकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र ५ लाख प्रतियोगिताबाट बचत गरी ग्रुपले सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको प्रचार संयोजक तथा आवास संयोजक रामकृष्ण ज्ञावालीले बताए । नेपाल भलिवल संघको समन्वयमा, पश्चिमाञ्चल भलिवल संघको संयोजन, पोखरा महानगरपालिकाको बिषेश सहयोग र सफल दुधको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो ।