
डि.एन.बी.
पोखरा २१, माघ
नेकपा (दाहाल, नेपाल) समुहका नेता तथा कार्यकर्ताले आज (बुधबार) पोखरामा राँके जुलुस प्रर्दशन गरेका छन्। नेकपाले विहिबार आव्हान गरेको आम हड्तालको पूर्व सन्ध्यामा पोखरामा पनि अनेरास्ववियू, राष्ट्रिय युवा संघ सहित नेकपाका नेता तथा कार्यकर्ताले राँके जुलुस प्रर्दशन गरेको नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले बताए ।
उनका अनुसार पोखराको शिवालयचोक र सृजनाचोक क्षेत्रमा बुधबार साँझ राँके जुलुस प्रर्दशन गरिएको हो । राँके जुलुस प्रर्दशनको क्रममा प्रहरीले राँको खोस्ने क्रममा प्रहरीको लाठ्ठीबाट तीन जना युवा घाइते भएको राष्ट्रिय युवा संघका नेता भोजराज पौडेलले बताए । नेता पौडेल सहित झितिज सापकोटा र भरत भट्टराई प्रहरीको लाठ्ठीबाट घाइते भएको पौडेलले दाबी गरे ।
कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले राँके जुलुस प्रर्दशनमा कुनै अप्रिय घटना नभएको बताए ।
संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड÷माधव समूहले बिहीबार आम हड्तालको घोषणा गरेको छ । विहिबार विहान ५ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म अत्यावसेक सेवा, परिक्षा दिन जाने परिक्षार्थी वा सहयोगी बाहेक अन्यलाई सवारी साधन संचालनमा समेत रोक लगाइएको नेकपाले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिकिनकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड(माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ । नेकपाले २८ गते काठमाडौंमा जनसभा गर्ने तयारी गरेको छ भने नेकपा ओली पक्षले माघ २३ गते काठमाण्डौंमा जनसभा गर्ने भएको छ ।