ताजा खबर

आन्तरिक पर्यटन पुर्नरुत्थानका लागि धम्पुस पिकको ६ जना द्धारा सफल आरोहण

समाचारकक्ष
पोखरा ४,माघ

कोभिड–१९ बाट सुस्ताएको नेपालको पर्यटनलाई आन्तरिक पर्यटन प्रवर्धन मार्फत पुर्नरुत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिला सहित ६ जना नेपालीको टोलीले मुस्ताङमा रहेको ६०१२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा उनीहरुले उक्त पिक हालै आरोहण गरेको नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश)का प्रमुख काशीनाथ भण्डारीले बताए । माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोली शिखरमा पुगेर नेपालको झण्डा फहराएको आरोहण दलका संयोजक जीवनराज सापकोटाले बताए । पौष २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्विसुब्बा गुरुङले आरोहीहरु, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) का प्रतिनिधिहरु, पर्यटन व्यवसायी र संचारकर्मी सहितको २६ जनाको टोलीलाई नेपालको, गण्डकी प्रदेश सरकारको, नेपाल पर्यटन बोर्डको र नेपाल पर्वतारोहण संघको झण्डा हस्तान्तरण गरि धम्पुस पिकको सफल आरोहणको शुभकामना दिएको थियो ।

उक्त धम्पुस पिकको सफल आरोहण गर्ने पर्वतारोहीहरुमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दिपेशबाबु सूबेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी),  सुदीप गौतम (कास्की) र हिरा कुमारी मल्ल (स्याङजा) रहेकाछन्।  तिब्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरु शिखर नजिकै पुगेर पनि फर्कन बाध्य भएको आरोहण दलका संयोजक सापकोटाले बताए । त्यसै गरी पोखराका पत्रकार दिपक परियार लेकलागेका कारण आधार शिविरबाट फर्केको उनले जनाए । पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहेता पनि आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य राखेर नेपालीहरुलाई पनि तुलनात्मक रुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिक जस्ता धेरै हिम शिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने संदेश दिन यो अभियानको शुरुवात भएको प्रमुख भण्डारीले जनाए । हाल आन्तरिक पर्यटकहरु दृश्यावलोकन पदयात्रा, प्याराग्लाइडिङ, राफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिहरुमा अत्याधिक रमाउने गरेका छन भने धम्पुस पिकको सफल आरोहणले अब उप्रान्त आन्तरिक पर्यटकहरुका लागि पर्वतारोहण पनि आर्कषक पर्यटकीय उपजको रुपमा स्थापीत हुने विश्वास लिइएको उनले जनाए । साथै आरोहण टोलीमा पदयात्रा पर्यटन व्यवसायीहरु समेत रहेको र उनीहरुले प्रशिक्षकहरुबाट तालिम समेत लिएकाले आन्तरिक पर्यटकहरुका लागि उपयुक्त पर्वतारोहणको प्याकेज तयार गर्न समेत मद्दद पुग्ने भएको संयोजक सापकोटाले जनाए ।

फ्रेन्च नागरिक मौरिस हर्रजोगले सन् १९५० को जुनमा गण्डकी प्रदेशमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१मी) चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भएतापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिम श्रृंखला  मा रहेका शिखरहरुको आरोहण गर्ने गरेका छन् । अन्र्तराष्ट्रिय पर्वतारोहीहरुको रोजाईमा ८००० मिटर भन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्याण्ड पिक, पिसाङ पिकहरु पर्दछन । यी मध्य मनाङ जिल्लाको पिसाङ पिक अन्नपुर्ण श्रृंखलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् ।

Related posts