
डि.एन.बी.
पोखरा २०, पुष
माउन्टेन स्पोर्टस फेडेरेशन (महासंघ) को आयोजनामा आउँदो फागुन तेश्रो साता देखि गण्डकी प्रदेशमा आठौं पर्वतीय खेलकूद महोत्सव हुने भएको छ । कोरोनाको कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन २० गते देखि गण्डकी प्रदेशमा नहुने भए पछि उक्त मितिमा पर्वतीय खेलकूद महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
उक्त, फेस्टिभल अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु प्रस्तावका रुपमा अघि सारेको महोत्सव संयोजक सुर्वण श्रेष्ठले बताए । कोरोनाबाट प्रभावित भएको पर्यटन, खेलकुदलाई माथि उठाउन केही मद्धत पुग्ने उद्धेश्यले पनि सहासिक खेलकुदको केन्द्र गण्डकी प्रदेशमा उक्त महोत्सव हुने तयारी गरिएको महोत्सव संयोजक श्रेष्ठले जनाए ।
उक्त फेस्टिभल सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुको सहयोगमा करिब १ करोड ८८ लाख खर्च हुने भएको संयोजक श्रेष्ठले बताए । महासंघमा १५ वटा विभिन्न राष्ट्रिय खेलसंघ र केही इभेन्टहरु आवद्ध भएको उनले जनाए । यसै गरि गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवको लागि सम्वन्धित खेल संघका प्रतिनिधी सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठन गरिएको महासंघले जनाएको छ । माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजकमा गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलायको कार्यदल गठन गरिएको छ । अन्य सदस्यहरुमा लक्की क्षेत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन्।
नेपालमा परम्परागत, सहासिक तथा पर्यटकिय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धन गर्न सन २०१३ मा गठन भएको माउन्टेन स्पोर्टस फेडेरेशनले आफ्नो स्थापनाकाल देखिनै विभिन्न गतिविधि गर्दै आएको महासंघले जनाएको छ । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसंग महासंघले भेटघाट गरिसकेकोले उक्त महोत्सवलाई सफल पार्न सहयोग गर्ने आश्वासन दिएको श्रेष्ठले बताए ।