
डि.एन.बी.
पोखरा १८, पुष
विश्वकै चर्चीत अन्नपूर्ण पद मार्गमा पर्ने पर्यटकीय गन्तव्यहरु खुल्ला हुने भएकोले यसले पोखरा र गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरु समेत आशाबादी भएका छन्। अन्नपूर्ण पद मार्गमा पर्ने पर्यटकीय गन्तव्यहरु यही जनवरी १४ तारिख अर्थात माघ १ गते खुल्ला हुने बिषयमा पर्यटन व्यबस्थापन समिति घान्द्रुकले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएसंगै पोखरा र गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरु उत्साहित र आशावादी भएका हुन्।
करिब १० महिना पछि विरेठाँटी, धान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरी लगायतका क्षेत्रमा पर्यटक आगमनमा खुल्ला हुने भए पछि पोखरा सहित पोखरा आसपासको पर्यटकीय गतिविधि केही आशावादी हुने भएको व्यवसायीहरुले बताएका हुन् । गाउँमा बढी बृद्ध बृद्धाहरु भएको हुनाले कोरोना शंक्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी माघ १ गते देखि मात्र उक्त क्षेत्रमा पर्यटक आगमनमा खुल्ला गर्ने भएको पर्यटन व्यबस्थापन समिति घान्द्रुकका अध्यक्ष किसन गुरुङले बताए । उक्त क्षेत्रमा पर्यटक आगमन खुल्ला गरेसंगै आफुहरुमा थप आशा र भरोसा समेत भएको उनले जनाए । घान्द्रुकमा आगन्तुक पाहुनाहरुलाई स्वास्थ्य परिक्षणको क्रममा ज्वरो आउने तथा कोरोनाको कुनै लक्ष्यण देखा परेमा उनीहरुलाई दिउँसो ढिलोमा ४ः०० बजेसम्म पोखरा पठाउने व्यबस्था मिलाउने छ भने अन्यथा त्यही आइसुलेसनको रुपमा समितिले व्यबस्थापन गरी भोलि पल्ट पोखरा पठाउने व्यबस्था गरेको अध्यक्ष गुरुङले बताए । आफुहरुले मासिक ३० हजार शुल्क दिने गरी एउटा घर भाडामा लियर आइसुलेसनको रुपमा संचालन गरिने भएको उनले जनाए । व्यक्तिहरुको रेखदेखको लागि दुई जना स्टाफ नर्स समेत तयारी अबस्थामा राखिने भएको अध्यक्ष गुरुङले जनाए । कोरोनाले जीवनको महत्व, कृषि गाँउको महत्व बुझाएसंगै आफुहरुले जीवनकै सवै भन्दा बढी दुःख पाएको उनले जनाए ।
उनले भने “ हामीले कोरोनाबाट धेरै दुःख पायौं, धेरै क्षेत्रबाट पर्यटकीय गन्तव्य खुल्ला गर्नु पर्छ भनेर हामीलाई एक प्रकारको दाबाब पनि आयो, कतिन्जेल पर्यटकीय गन्तव्यमा पर्यटक आगमन रोक्ने, अब विस्तारै खुल्ला गर्दै जानु पर्छ भनेर एउटा प्रयास गरेका छौं । ” नेपाल सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी घान्द्रुक, छोम्ररुङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, घोरेपानी, माछापुच्छ«े वेस क्याम्प, अन्नपूर्ण वेस क्यापमा घुमघाममा निस्कन सकिने भएको अध्यक्ष गुरुङले जनाए । छुम्रुङमा जादा पिसिआर नेगेटिभ रिपोट लैजानु पर्ने नियम बनाएकोले गर्दा यसले पद मार्गमा जाने पर्यटकहरुलाई समस्या हुने भएको टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष शुसिल पौडेलले बताए ।
कोरोनाको प्रभावले धेरै पर्यटकीय क्षेत्र प्रभावित हुने भएकोले अब गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरु विस्तारै स्वास्थ्य मापदण्ड पुरा गरी खुल्ला गराउन पहल गरेको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीनाथ भण्डारीले बताए । पोखरा र पोखरा आसपासका पर्यटकीय गन्तव्यहरु अझै खुल्ला नहुदा पर्यटन प्रबद्र्धनमा थप समस्या भएकोले अब पर्यटकीय गन्तव्यहरु खोल्नुको विकल्प नभएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले विश्व बजारलाई हेरीकन पर्यटन वोर्डले नयाँ प्याकेज ल्याउनु पर्नेमा जोड दिए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटकलाई अब उच्च प्रथामिकता दिनु पर्ने बताए । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेसकान्त शर्माले आन्तरिक पर्यटकहरुलाई अब ५ देखि ६ हजार मिटर उचाईका हिमालहरु आरोहण गराउनु पर्ने बताए । आन्तरिक पर्यटन पुनःउत्थान गण्डकी प्रदेशका संयोजक अग्नी कंडेलले अब निरासा नभई आशाबादी भएर पर्यटकीय गन्तव्यहरु खुलाउनु पर्ने बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए—क्याप) पोखराका प्रमुख राजकुमार गुरुङले घान्द्रुकमा पर्यटकहरुको सुरक्षाको लागि आइसुलेसन सहितको सेवा उपलब्ध गराएर उदाहरणिय कार्य गरेको बताए । विश्वमा नेपाल सस्तो पर्यटकीय गन्तव्य भएकोले नेपालको पदमार्ग संरक्षणमा सवै लाग्नु पर्ने उनको जोड थियो । कार्यक्रममा नाट्टा क्षेत्रिय संघ गण्डकी प्रदेशका अध्यक्ष संजयकान्त सिग्देल, रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल लगायतले पोखरा सडक महोत्सवले पोखराको पर्यटन क्षेत्रमा केही सन्देस दिएको जनाए ।