ताजा खबर

नेकपालाई प्रधानमन्त्री ओलीले भड्खालोमा हालेको नेता पौडेलको आरोप

समाचारकक्ष
पोखरा, पुस १२

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई भड्खालोमा हालेको आरोप लगाएका छन्। नेकपा प्रचण्ड–माधव समूहको कास्की जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई आईतबार पोखरामा सम्बोधन गर्दै नेता पौडेलले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ पूरा गर्न विदेशीको गोटी बनेर देश र पार्टीलाई भड्खालोमा हालेको आरोप लगाएका हुन्।

नेता पौडेलले प्रधानमन्त्री ओली पहिलेको अञ्चालाधीस जस्तै प्रबृत्ति भएको दाबी गरे । उनले भने “ पहिलेका अञ्चलाधीस सर्वे सर्वा हुन्थ्यो र अरु कसैले भनेको टेर्दैनथ्यो, अहिले ओली पनि त्यसै गर्दैछन्, ओली र अञ्चलाधीसको एकै प्रकृतिको प्रबृत्ति भयो । ” जनताप्रति गरेको बाचा र प्रतिबद्धता प्रति बेईमानी गरेको बताएका नेता पौडेलले चुनावताका सुखी नेपाली, समृद्ध नेपाल लगायतका बाचाबाट ओली भागेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे । यति होल्डिङ, सुन काण्ड, वाईडवडीदेखि बुढीगण्डकीलगायतका काण्डै काण्डले ओलीले देश लुटिरहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीमा बुर्जुवा दृष्टिकोण भएको नेता पौडेलले जनाए । नेता पौडेलले ओली समूहले चुनाव भए एउटा वडामा पनि चुनाव जित्न कठिन हुने जिकिर गरे । उनले भने “प्रधानमन्त्री ओलीले चुनाव गराउने पक्षमै हुनुहुन्न, यदी निश्पक्ष चुनाव भए उहाँहरुले एउटा वडामा पनि जित्नु कठिन हुन्छ । ” नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले ओलीको अहमता र अधिनायकवाद बिरुद्ध डटेर सामना गर्न आग्रह गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङले संसद विघटन गरेर ओलीले संवैधानिक ‘कु’ गर्न खोजेपनि त्यसलाई असफल बनाइदिने चेतावनी दिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चुडामणी जंगली र सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ, धनराज आचार्य लगायतले प्रतिगमनकारी कदम नसचिदा सम्म आन्दोलन रोक्न नहुनेमा जोड दिएका थिए । यही पुष १४ गते पोखरामा बिरोध प्रर्दशन गरीने भएको युवा नेता आचार्यले जनाए । प्रतिगामी बिरुद्ध हुने उक्त बिरोध प्रर्दशन कार्यक्रममा सहभागिताको लागि आचार्यले आव्हान समेत गरेका छन्।

Related posts