राजनितिक अस्थिरता सिर्जना गरेर मुलुकलाई अराजकता तर्फ धकेलिदै छ —सांसद अधिकारी

लेखनाथ÷पौष ०४

संघीय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनितिक अस्थिरता निम्त्याएर अराजकता तर्फ धकेल्न खोजिएको बताएका छन् ।  लेखनाथ सामुदायीक सेवा केन्द्रको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय अखण्डताको पक्षमा उभिएको के पी ओली सरकारलाई चौतर्फी रुपमा राजनितिक घेरावन्दी गरिएको आरोप लगाए ।

उनले पार्टी भित्र र बाहिरबाट सरकारलाई असफल बनाउन आक्रमण भएको उल्लेख गर्दै, राजनितिक अस्थिरता निम्त्याएर फाइदा लिने तत्वहरु सक्रिय भएको समेत बताए । सांसद अधिकारीले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्ध रक्षाका लागि सवै दलहरु एकठाउँ हुनुको विकल्प नभएको उल्लेख गर्दै, अहिले राजावादीहरु सलबलाई रहेको बताए । उनले राजावादीहरु जतिसुकै सडकमा आए पनि राजतन्त्र फर्किनै नसक्ने ठोकुवा गरे । राजनितिक इमान्दारिता नहुँदा युवापुस्तामा नैरास्यता आएको उल्लेख गर्दै, उनिहरुको गलत तत्वले फाइदा उठाउन सक्ने बताए । सांसद अधिकारीले समाजमा विभिन्न अपराध गरेकाहरुलाई छुटाउने नभै तिनका विरुद्ध खवरदारी गर्न सामुदायीक सेवा केन्द्रलाई आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति सांसद दिपक कोइरालाले विकास र सामाजिक संघसंस्थामा राजनीतिले प्रभाव पार्न नहुने उल्लेख गरे । उनले कोभिड १९ को प्रभावबाट बाहिर निस्केर विकास निर्माणलाई गति दिनु पर्नेमा जोड दिए ।  रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतीका विरुद्ध चलाईने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सर्वसम्मत चयन भएको नेतृत्वले समाज सुधारमा पनि सवैको मन जित्न सफल हुनु पर्ने शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष त्रिलोचन लामिछानेले विगतमा गरिएका राम्रा कामलाई निरन्तरता दिदै, विकृति र विसंगती विरुद्धका सचेततामुलक कार्यक्रम संचालन गरिने प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचन समितिका संयोजक राममणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की जिल्ला सचिवालय सदस्य शंकर पौडेल, नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्रमणि लामिछाने, इलाका प्रहरी कार्यालय डाडाँको नाकका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाट, निर्वाचन समितिका सदस्य नवराज सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सेवा केन्द्रको चौधौं बार्षिक साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मी प्रसाद ढुंगाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गंगाकुमारी खनाल, सहसचिवमा हरि बस्ताकोटी र सदस्यहरुमा गणेश ढुंगाना, दिपक भण्डारी, बुद्धिमाया थापा मगर, बुद्धिसागर पौडेल, सुरजजंग राणा, शिब बहादुर रानाभाट, विनोद थापा र राजु अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।  केन्द्रले साविक लेखनाथ र रुपा गाउँपालिकालाई कार्यक्षेत्र बनाई विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आईरुहेको छ ।

Related posts