ताजा खबर

कलाकार अब सडकमा उर्तिदै ..

पोखरा २२, मंसिर

पोखराका दोहोरी व्यवसायीहरुले दोहोरी संचालनको विषयमा पटक पटक प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि सुनवाई नभएको बताएका छन् । पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की र सांगीतिक कलाकार संघ नेपाल कास्कीले सोमबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा उनीहरुले यस्तो बताएका हुन् ।

कोरोना भाइरसका कारण चैत ५ देखि नै दोहोरी साँझ व्यवसाय बन्द छ । साउन २० गतेदेखि जिल्ला प्रशासन कार्यालय कास्की, मुख्यमन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र सामाजिक विकास मन्त्रालयमा पटकपटक पत्र बुझाइए पनि सुनवाई नभएको पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले बताए । उनका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सकरात्मक रहेता पनि सिडिओ ज्ञान प्रसाद ढकाल सकरात्मक छैनन् ।

अन्य व्यवसाय संचालन गर्न दिँदा दोहोरी साँझ व्यवसायको हकमा भने राज्यले केही नसोचेको गुनासो उनीहरुको छ । पोखराका विभिन्न २५ वटा दोहोरी साँझमा झण्डै एक हजार ५० जना कलाकार एंव कर्मचारी आबद्ध छन् । हालको अवस्थामा दोहोरी ठप्प हुँदा उनीहरुको रोजीरोटी गुमेको छ ।

गुरुङले भने,“हामीलाई आन्दोलन गर्न कुनै रहर छैन । अहिले पनि तीन दिनको अल्टिमेटम दिएका छौं । सो समय भित्र हाम्रा मागहरुको सम्बोधन भए आन्दोलनका कार्यक्रम स्थिगत हुन्छ । मंसिर २५ गते साँझसम्म मागको सम्बोधन नगरिए २६ गते दोहोरीसाँझका सम्पूर्ण कलाकार कर्मचारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति पूर्ण धर्ना दिइनेछौं ।”

सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै व्यवसाय संचालन गर्छौं भन्दा पनि सरकार उदासिन बनेको गुरुङको भनाई छ । व्यवसाय संचालनका लागि वित्तिय संस्थाबाट लिएको कर्जाको किस्ता र ब्याज तिर्न आफूहरुलाई दबाब आउन थालेको उनले बताए । घरभाडा समेत तिर्न धौधौ परिरहेको छ । कलाकार तथा कर्मचारीमा वितृष्णा आएको छ । आर्थिक स्थिति कमजोर हुँदा लकडाउनकै समयमा केहीले आत्महत्या समेत गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले कि त कलाकारलाई सरकारले रोजीरोटीको व्यवस्था गरिदिनुपर्यो ,होइन भने सरकारको नीति अनुसार नै दोहोरी संचालन गर्ने व्यवस्था मिलाइदिनुपर्यो भन्दै माग राखेका छन् । उनले भनेका छन्,“दोहोरी साँझमा गीत गाएर टिप्सका भरमा दैनिकी चलाउने कलाकार पनि नभएका होइनन् । उनीहरु अहिलेको अवस्थामा सबैभन्दा मारमा परेका छन् ।” पोखराका दोहोरीमा ४५० कलाकारले काम गर्दै आएको उनले जानकारी गराए । काठमाडौं, चितवन, दमौली लगायत नेपालका विभिन्न शहरमा अधिकांश दोहोरी साँझहरु संचालनमा आउँदा पोखराको दोहोरी साँझ बन्द हुन शोभनिय नभएको उनले बताए ।

पोखराको रात्रीकालिन व्यवसायमा पनि कोहीलाई काखा कोहीलाई पाखा गरिएको आरोप दोहोरी व्यवसायीको छ । लेकसाइडका बार खुल्दा दोहोरी साँझ नखुल्नु गलत भएको दाबी उनीहरुको छ ।

पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघका महासचिव चोलेन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यालयबाट पठाएको चिठीमा सम्पूर्ण अधिकार सिडिओलाई दिएता पनि अधिकार प्रत्योजनको हकमा फितलोपन देखिएको बताए । उनले भने, “ अब हामी दोहोरी व्यवसायी कि त वार हुन्छौं कि त पार हुन्छौं । तीन दिनसम्म पनि मागको सम्बोधन नभए सडकमा उत्रनुको विकल्प छैन ।

Related posts