ताजा खबर

कास्कीका ट्राफिक प्रहरीले अब जरिवानाको रकम प्रत्यक्ष रुपमा नलिने


डि.एन.बी.

पोखरा १२, मंसिर

कास्कीका ट्राफिक प्रहरीहरुले अबदेखि ट्राफिक नियम उल्ङघन गर्ने उपर जरिवानाको रकम प्रत्यक्ष रुपमा नलिने भएका छन् । ट्राफिकको कारवाहीमा परेकाहरुले ग्लोवल आइएमइ बैंकमै जरिवाना रकम दाखिला गर्नुुपर्ने नियम आज (शुक्रबार) देखि लागु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कास्की जिल्ला भित्र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी नियम उलंघन गर्ने सवारी चालकलाई कारवाही गर्ने सिलसिलामा सवारी नियम उलंघन गरे वापत जरिवाना रकम बैंकिङ प्रणाली मार्फत सिधै ‘जरिवाना रकम राजश्व खातामा’ जम्मा गर्नु पर्ने कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा हालै स्थापना भएको बैंकको काउण्टरको समेत शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उनले समय सादर्भिक रुपमा प्रविधि मैत्रि हुनुले आम चालक तथा ट्राफिक प्रहरीलाई समेत राम्रो हुने जनाए । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, ग्लोवल आई एम ई बैंक पोखरा न्यूरोड शाखाका प्रमुख अर्जुन पोख्रेलले पोखरामा पनि ट्राफिक सचेतना अझै कमी भएकोमा जोड दिए ।

ट्राफिक कामकारवाहीलाई सहज छिटो छरितो र पारदर्शी तरिकाले संचालन गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा बैंकको काउण्टर स्थापना गरी शुक्रबार देखि नै संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक सन्तोस रोकाले बताए । उनले भने “ यो कोरोनाको महामारीका वेला जरिवाना राजश्व बैंकीङ सिस्टमले हामीलाई धेरै राम्रो भएको छ, कहिले काहिँ ट्राफिक प्रहरीलाई रकम खाएको आरोप पनि आउने गर्थो अब त्यस्ता आरोप पनि भोलिका दिनमा खेप्न नपरोस । ” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कास्कीमा ट्राफिक नियम उलंघन गरी सवारी संचालन गर्ने सयौंको सङख्यामा कारवाही गर्दा दैनिक दुई लाखसम्म राजश्व संकलन गर्ने गरेको थियो । हिजोआज कोरोनाको कारणले गर्दा पनि कम सवारी साधन संचालन हुँदा दैनिक जसो ६० भन्दा बढी सवारी चालक कारवाहीमा पर्दा एक लाख रुपैया भन्दा बढी राजश्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।

Related posts