ताजा खबर

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

कास्की,६ मङ्सिर

भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखी ७ सम्म आयोजना हुने २५ औं ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ ।नेपाल पावर लिफ्िटङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालका तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी तौल, राजेश सुवालले ९०,सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी र श्रुती कार्कीले ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टिङ एशोसिएसनका अध्यक्ष सुन्दर भुषालले बताउनुभयो । उहाँका अनुसार नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक सहित आठ सदस्सीय टोली डिसेम्बर ३ तारिखमा भारत प्रस्थान गर्नेछ ।कोरोना कहरका कारण विगत लामो समयदेखी खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको एशोसिएसनका अध्यक्ष भुसाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“हामीले संस्थागत रुपमा खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउँदैछौँ,हालको विषम् अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुनुनै ठूलो कुरा हो ।” एशोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । यसअघि गत चैत १२ गतेदेखी सो प्रतियोगिता तय भएकामा कोरोना भाइरसका कारण पछि धकेलिएको बताइन्छ ।

प्रतियोगितामा नेपाल सहित २५ राष्ट्रले सहभागिता जनाउने एशियन पावर लिफ्टिङ महासङ्घका उपाध्यक्ष जीवन गिरीले बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले खेलकूदका माध्यमबाट राष्ट्रलाई चिनाउनका लागि खेलाडी उत्पादन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

Related posts