ताजा खबर

आन्तरिक राजश्व कार्यालय पोखराले प्रथम चौमासिकमा २० प्रतिशत लक्ष्य पुरा गर्न सकेन

डि.एन.बी.

पोखरा ६, मंसिर

आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०७७÷०७८ को प्रथम चौमासिकमा १ अर्ब २० करोड ९८ लाख रुपैया राजश्व संकलन गर्न सफल भएको छ । कोरोना भाइरस (कोभिड १९ ) को कारण कार्यालयले लक्ष्य भन्दा ८० प्रतिशतले मात्र उक्त राजश्व संकलन गर्न सफल भएको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

कार्तिक मसान्तरसम्म कार्यालयले १ अर्ब ५१ करोड २० लाख राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा २० प्रतिशतले ३० करोड २२ लाख कम राजश्व संकलन गरेको उनले जनाए । गत बर्षको कार्तिक मसान्तरसम्म कार्यालयले १ अर्ब ७६ करोड ९ लाखको लक्ष्य रहेकोमा १ अर्ब ३६ करोड २ लाख राजश्व संकलन गर्न सफल भएको थियो । यस बर्ष कोरोनाको कहरका बाबजुत पनि गत बर्षको जस्तै राजश्व संकलन गर्न सफल भएको सूचना अधिकारी लामिछानेले जनाए ।

कार्यालयले प्रथम चौमासिकमा आयकर तर्फ ६१ करोड ५९ लाख १८ हजार राजश्व संकलन गरेको छ भने व्यवसायिक घर वहाल कर तर्फ १ करोड १७ लाख ९५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आयकर तर्फ ७७ प्रतिशत र घर वहाल कर तर्फ २३.६५ प्रतिशत लक्ष्य हासिल गरेको हो ।

त्यसै गरी कार्यालयले प्रथम चौमासिकमा व्याज तर्फ एक सय १ प्रतिशत अर्थात ११ करोड ८४ लाख ६८ हजार राजश्व संकलन गर्न सफल भयो भने आन्तरिक कर तर्फ ७६ प्रतिशत लक्ष्य प्राप्त गर्दा ३६ करोड ६५ लाख ४१ हजार राजश्व संकलन गर्न सफल भएको हो । अन्त शुल्कः अभिबृद्धि कर तर्फ कार्यालयले लक्ष्य भन्दा एक सय ७६ प्रतिशत लक्ष्य हालिस गर्न सफल भएको छ । कार्यालयले अन्त शुल्कः अभिबृद्धि कर तर्फ ९ करोड ६८ लाख ७७ हजार राजश्व संकलन गरेको हो ।

यस चालु आ.व.को कार्तिक मसान्तरसम्म उक्त कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर ९६ हजार ९ जना ले लिएका छन्। १ लाख ५८ हजार ८५ जना करदाता रहेकाछन् भने व्वसायी स्थायी लेखा नम्बर लिनेको सङख्या ६२ हजार ६४ जना रहेको छ । मुल्य अभिबृद्धिकरमा १२ हजार ७६ जना दर्ता भएका छन्। कोरोनाको कारणले गर्दा धेरै व्यवसायलाई प्रभाव परे पनि कार्यालयले लक्ष्य नजिक पुग्ने गरी राजश्व संकलन गरेको सूचना अधिकारी लामिछानेले जनाए । कार्यालयले अनलाइन सिस्टमबाट कर भुक्तानी गर्ने र भेरिफिकेसन समेत गर्न मिल्ने व्यबस्था गर्दा गर्दै पनि हाल दैनिक जसो सयौंको सङख्यामा भिड लाग्ने गरेको उनले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *