
डि.एन.बी.
पोखरा ५, मंसिर
पोखरामा निर्माण हुदै गरेको प्राकृतिक चिकित्सालयमा हाल आइसुलेसन सेन्टर (कोरोना उपचार केन्द्र) निर्माण भएको छ । पोखराको धार्मिक एवं सामाजिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखरा १ मा निर्माण गर्न लागेको प्राकृतिक चिकित्सालयको स्थानमा हाल समय र परिस्थिती अनुसार आइसुलेसन सेन्टर (कोरोना उपचार केन्द्र) निर्माण गरिएको समितिका सचिव तिर्थ श्रेष्ठले बताए ।

पोखरा–१ अधिकारी टोल (गुठीबारी मार्ग) मा रहेको समितिको २१ रोपनी १२ आना जग्गाको परिसरमा ४० बेडको आइसुलेसन सेन्टर हालै निर्माण कार्य सम्पन्न भएको सचिव श्रेष्ठले बताए । उनले भने “ हामीले प्राकृतिक रुपमा उपचार गराउने उद्धेश्यले प्राकृतिक चिकित्सालय स्थापना गर्न खोजेका थियौं तर कोरोनाको महामारी फैलिदै गएको अबस्थामा पोखरामा पनि धेरै आइसुलेसन सेन्टर आवश्यक भएकोले गर्दा गण्डकी प्रदेश सरकारसंगको सहकार्यमा उक्त सेन्टरको निर्माण कार्य सम्पन्न गरेका हौं । ” महिला तथा पुरुषहरुको लागि छुट्टा छुट्टै आइसुलेसन कक्ष, सौचालय तथा वाथरुम समेत निर्माण गरिएको सचिव श्रेष्ठले बताए । सुरक्षाको दृश्टिले बढी रेखरेद गर्न पनि समितिले उक्त क्षेत्रमा ८ वटा सिसि क्यामरा समेत जडान गरेको छ ।
गण्डकी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयबाट उक्त सेन्टर स्थापना गर्न २७ लाख रुपैया प्राप्त भएको सचिव श्रेष्ठले जनए । समितिले उक्त क्षेत्रमा पानीको अभाव हुन नदिन खानेपानीको वोरिङ, भूइतलामा पानी ट्याङकी, एउटा भिल्ला समेत स्थापना गरेको छ । प्रतिमिनेट २ सय लिटर क्षमताको वोरिङ संचालन गर्न प्रदेश सरकारले लगानी गरेको र तीन कोठे भवनको भिल्ला निर्माण गर्न पोखरा महानरपालिका वडा नम्बर ४ ले आर्थिक सहयोग गरेको समितिका सचिव श्रेष्ठले बताए । उक्त सेन्टर सहितको अन्य संरचना निर्माणसंगै फिनिसिङ गर्दा करिब एक करोड ५० लाख लगानी हुने भएको उनले जनाए ।

पहिलो चरणमा १५ करोड रुपैयाँको लागतमा एक सय शैयाको प्राकृतिक चिकित्सालय बनाईने समितिले तयारी गरेको थियो ।