ताजा खबर

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता मंसिर १५ पछि टुंगो लाग्छः शिलवाल खेलकुदमा खुरापाती नगर्न सदस्य गुरुङको आग्रह


डि.एन.बी.
पोखरा २४, कार्तिक

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार शिलवालले आगामी फागुन २० देखि २७ गते गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको बिषयमा आउँदो मंसिर १५ गते पछि मात्र टुंगो लाग्ने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले आज(सोमबार) पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै सदस्य सचिव शिलवालले कोरोनाले गर्दा हाल राष्ट्रिय खेल गर्ने नगर्ने भन्न नसकिने अबस्था भएकोले यसको टुंगो मंसिर १५ पछि लाग्ने जनाए ।

कोरोनाको प्रभाव घटेमा निर्धारित मितिमा हुने अन्यथा यस बर्ष उक्त खेलकुद नहुने बताएका सदस्य सचिवले अनुकुल वातावरण भएको खण्डमा तीन महिनामै उक्त प्रतियोगिता गर्न सक्ने दाबी गरे । उनले भने “विज्ञहरुले भने अनुसारको कोरोनाको शंक्रमण दर नेपालमा नघटेकोले अहिलेको अबस्थामा राष्ट्रिय खेल आयोजना गर्न नसकिने अबस्था छ तर हामीले अब विस्तारै खेल गतिविधिलाई अगाडी बढाउदै छौं, खेलकूद प्रशिक्षण सुरु हुन थालेका छन् ।” अन्तराष्ट्रिय गेम्स १३ औं दक्षिण एसियाली खेलकूद(साग) करिब दुई महिनामा ऐतिहासिक रुपमा सम्पन्न गरेको अनुभवले पनि राष्ट्रिय खेलकुदमा तीन महिना प्रयाप्त समय हुने सदस्य सचिव शिलवालले जनाए । पोखरामा सुईमिङ पुल र सुटिङको थोरै समस्या भए पनि त्यसको विकल्प समेत भएको दाबी गर्दै सदस्य सचिव शिलवालले सुइमिङ पुलको प्रयाप्त बजेट निकासा नहुदा बजेको सुनिश्चित हुन नसक्दा काम अघि बढ्न नसकेको जनाए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा न्यूनतम एक खेल सञ्चालन गर्ने गरी केही काम समेत अघि बढाएको उनले बताए । गाँउगाँउमा खेलकुद लैजाने आफ्नो उद्धेश्य रहेको बताएका सदस्य सचिव शिलवालले खेलकुदलाई अब पर्यटन र अर्थसंग समेत जोड्नु पर्ने बताए । कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता हुदा अनिवार्य रुपमा खेल्न लायक खेल मैदान र खेल सामाग्रि विना खेलगतिविधि नहुने सदस्य सचिव शिलवालले दाबी गरे । खेलकुदमा माहोल सृजना गर्न, दर्शक विनाको खेलकुदले गतिलिन नसक्ने हुदा खेलकुदमा माहोल ल्याउनु पर्ने उनको भनाई थियो । पोखरा रंगशालाको फुटवल स्टेडिएम यसै बर्ष भित्र २० हजार दर्शक क्षमताको हुने सदस्य सचिव शिलवालले बताए । यसै बर्ष ३ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको भवन निर्माण गरेसंगै रंगशालामा हाल भएको १६ हजार ५ सय बाट बढाएर २० हजार पुग्ने भएको उनले जनाए ।

पोखरा फुटवल मैदानलाई एएफसीले उत्कृष्ट फुटवल मैदानको रुपमा सुचिकृत गरेकोले पोखरामा महिला सम्बन्धि कुनै एक अन्तराष्ट्रिय खेलकुद गर्न तयारी गरेको सदस्य सचिव शिलवालले दाबी गरे । निस्कृय खेल संघ माथि कारवाही गर्छु भन्नु भएको थियो के कारवाही भयो भन्ने हाम्रो प्रश्नमा उनले केही सयम पनि यसको नतिजा आउने जनाए । एक अर्ब २ करोडको खेलकूदको बजेट रहेकोले आफु सदस्य सचिवमा पुनः नियुक्त भएसंगै बजेट नबढाएमा राजिनामा दिन्छु भनी चेतावनी दिएसंगै खेलकुदमा थप ८२ करोड बजेट बढेको शिलवालले जनाए । एक अर्ब जसो बजेट कर्मचारी र प्रशासनिकमै खर्च हुने भएको उनले जनाए । उपयुक्त वातावरण भए बजेटको कारणले राष्ट्रिय खेलकुद नरोकिने उनले दाबी गरे ।

राखेपका सदस्य राजेशकुमार गुरुङले खेलकुदमा खुरापाती गर्न नहुने तर काम गर्ने मान्छे मात्र आवश्यक भएको बताए । सबैको साथ र सहयोगबाट पोखरामा गत वर्र्ष १३ औं सागका आठ खेल सम्पन्न भएको बताउदै अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने कार्यभार आफुहरुको काधमा आएको जनाए । नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष एकराज गिरीले आउँदो बर्ष स्पोटर्स अवार्ड गर्ने बताए । कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले नवौं राष्ट्रिय खेलकुद गर्न पोखरेली तयारी अबस्थामा भएको दाबी गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका उप निर्देशक कृष्ण तिमिल्सिना, विभिन्न खेल संघका पदाधिकारीले सदस्य सचिव शिलवाल, सदस्य गुरुङ र अर्को सदस्य पुरेन्द्रबिक्रम लाखे सहितको टोलीलाई खादा तथा मालाले रंगशालामा स्वागत गरिएको जिल्ला खेलकूद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जनाए ।

.

Related posts