ह्याम्बर्ग, २०७२ श्रावन १८,
शीर्ष बरियताका राफेल नाडाल आइतबार ह्याम्बर्ग टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नाडालले सेमिफाइनलमा इटालीका एन्ड्ेरस सेपीलाई ६–१ र ६–२ ले हराएका थिए । नाडालले पहिलो सेटमा ५–० को अग्रता लिएका थिए । सो सेट २५ मिनेट मात्र चल्यो । दोस्रो सेटमा नाडाल ५–१ ले अघि थिए । चौथो बरियताका सेपीले नाडाललाई दोस्रो सेटमा दबाबमा राख्ने कोसिस गरेका थिए । तर, उनले क्ले कोर्टका विशेषज्ञ नाडाललाई लामो समयसम्म दबाबमा राख्न सकेनन् । सेपीले नाडालविरुद्ध पहिलो सर्भिस ४७ प्रतिशत मात्र सही गरेका थिए । २९ वर्षीय नाडालले सन् २०१५ मा क्ले कोर्टमा २५–६ को रेकर्ड बनाएका छन् । नाडालले अब उपाधिका लागि आठौँ बरियताका फाबिओ फोगनीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनलमा फाबियोले लुकास पाउलियोलाई ६–२ र ७–६ ले हराए ।
श्रोत : नया पत्रिका