
ओटावा, २०७२ श्रावन १८,
क्यानाडाको ओनटेरिओ सहरमा सयौँ महिलाले टपलेस जुलुस निकालेर विरोध गरेका छन् । प्रहरीले तीन महिलालाई टपलेस भएर साइकल चलाउँदा रोकेपछि यो विरोध प्रदर्शन गरिएको हो । ओनटेरिओको किचेनेर सहरमा सर्ट नलगाई साइकल चलाएका तीन महिलालाई प्रहरीले रोकेको थियो । उनीहरूले सर्ट लगाएपछि मात्र अगाडि बढ्न दिइएको थियो । ती तीन महिलाले गर्मीका कारण कपडा उतारेर साइकल चलाएको जनाएका थिए ।
उनीहरूले प्रहरीले आफ्नो अधिकार हनन गरेको भन्दै प्रहरीविरुद्ध मुद्दा हालेका थिए । तर, प्रहरीले उनीहरूको सुरक्षाका लागि साइकल रोकेको र सर्ट लगाउन अनुरोध गरेको जनाएको छ । यो मुद्दा क्यानाडामा अहिले उठेको होइन । सन् १९९६ मा नै अदालतले शरीरको माथिल्लो भागमा कपडा नलगाई पनि महिला सार्वजनिक स्थानमा जान पाउने फैसला गरेको थियो । प्रहरीले ती तीन महिलालाई साइकलमा रोक्नु मानवअधिकारविरोधी भएको प्रदर्शनकारीले आरोप लगाएका छन् । आइतबार निकालिएको जुलुसको विरोध प्रदर्शनमा महिलाहरूले ‘यो स्तन हो, बम होइन, यसलाई चैनसँग रहन दिनुहोस्’ नारा लेखिएको प्लेकार्ड लिएका थिए । त्यस्तै, अर्को नारा थियो, ‘नग्नता कामुकता होइन ।’ यो विरोधको आह्वान केही दिन साइकलमा रोकिएका ती तीनमध्ये एकले गरेकी थिइन् । उनी क्यानडेली स्टेज गायिका पनि हुन् ।
श्रोत : नया पत्रिका