
काठमाडौं, २०७२ साउन १८,
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबाट अनियमित ढंगले लिएको कर्जा नतिरेर फरार तुलसाकुमारी धमला आइतबार पक्राउ परेकी छिन् । बैंकिङ कसुर मुद्दामा दोषी ठहर उनलाई पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र दुई करोड २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । धमलाले इरादा बिल्डर्स प्रालिको नाममा फाइनान्सबाट दुई करोड २० लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनलाई सिआइबीले ललितपुरको टीकाथलीबाट पक्राउ गरेको हो । सोही फाइनान्सको अनियमिततामा सिआइबीले गत १४ जेठमा धापासीका नवराज खत्रीलाई समेत पक्राउ गरेको थियो । खत्रीलाई पनि अदालतले ६ महिना कैद र ६ करोड ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । क्यापिटल फाइनान्समा सञ्चालक तथा कर्मचारीको मिलेमतोमा सात अर्ब ४३ करोड अनियमितता भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो । अनियमित तरिकाले बैंकका कर्मचारी मिलेर कर्जा प्रवाह गरेर ठगी गरेका थिए ।
श्रोत : नया पत्रिका