सिन्धुपाल्चोक, २०७२ साउन १८,
तातोपानीदेखि खाडीचौरसम्मको ३६ किमि सडकको पुनर्निर्माणको जिम्मेवारी पाएको नेपाली सेनालाई सघाउन चिनियाँ सशस्त्र प्रहरी लिपिङ आएको छ । चिनियाँ सशस्त्र प्रहरीले सडक खुलाउन नेपाली सेनासँग मिलेर काम गर्नेछ । चिनियाँ प्रहरी आएपछि कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको नेपाली अध्यागमन कार्यालयले जनाएको छ ।
चिनियाँ सशस्त्र प्रहरीको सयजनाको टोली लिपिङमा छ । अध्यागमन कार्यालय कोदारीको पहलमा छलफल भएको हो । छलफलमा कार्यालयका वरिष्ठ अधिकृत प्रह्लाद पोखरेल, नेपाली सेनाका मेजर प्रकाश बस्नेत र लार्चा प्रहरी चौकीका इन्स्पेक्टर केशव शाहले नेपाली पक्षको प्रतिनिधित्व गरेका थिए । चिनियाँ सशस्त्र प्रहरीका मेजर जनरल फु लिङको नेतृत्वमा चीनका चार प्रतिनिधि छलफलमा सहभागी थिए ।
अध्यागमनले तातोपानी नाकामा कार्यालय स्थापना गरी काम सुरु गरेको छ । नेपाली सेनाले शनिबारबाट तातोपानीदेखि खाडीचौरसम्मको सडक पुनर्निर्माणको काम सुरु गरेपछि अध्यागमन कार्यालयको काम पनि सुरु गरिएको अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत प्रह्लाद पोखरेलले जानकारी दिए । भूकम्पपछि कार्यालयको सम्पूर्ण काम पहिला धुलिखेल र पछि लामोसाँघुस्थित अँधेरीबाट हुँदै आएको थियो । सडक बनाउन आएको चिनियाँ सशस्त्र टिमलाई तातोपानी अध्यागमनले भिसा दिएको छ । उनीहरूले बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म दैनिक १२ घन्टा काम गर्ने जनाइएको छ । १० दिन काम गरेपछि उनीहरू फर्कनेछन् । दैनिक काम समाप्त हुनासाथ चिनियाँ सशस्त्रको टिम चिनियाँ क्षेत्रमै फर्कने गरेको छ । सडक निर्माण गर्ने आधुनिक उपकरणसहित आएको चिनियाँ प्रहरीले क्षतिग्रस्त मितेरी पुलको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ । ६ एक्साभेटर, ६ लोडर, ६ डम्पर, दुई एअरकम्प्रेसर र दुई बेलिब्रिज लिएर उनीहरू आएका हुन् । जुरे पहिरोबाट अवरुद्ध सडक खुलाउन पनि चिनियाँ टोली आउने जनाइएको छ ।
भूकम्पबाट क्षतिग्रस्त लार्चा र घट्टेखोलामा बेलिब्रिज हालेपछि चिनियाँ टोली फर्कनेछ । सडक बनाउने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि संलग्न छन् । भूकम्पबाट थलिएका तातोपानीका पीडित सर्वसाधारण नेपाली सेना र चिनियाँ सशस्त्रको टोलीले नाकामा काम सुरु गरेपछि त्यसको स्वागत गर्न मितेरी पुलमा भेला भएका थिए । अध्यागमनको काम पुरानै स्थानबाट सञ्चालन गरिए पनि सो नाकाबाट पर्यटक भने भित्रिन थालेका छैनन् । सो नाका भएर अन्य मुलुकका पर्यटक पनि चीनको तिब्बत प्रवेश गरेका छैनन् । सन् २०१४ मा ४० हजार चिनियाँ पर्यटक सो नाका भएर नेपाल आएका थिए ।
श्रोत : नया पत्रिका