ताजा खबर

पाकिस्तानको रोमाञ्चक जित 

कोलम्बो, २०७२  साउन १८,

नवौँ क्रमका अनवर अलीले १७ बलमा ४६ रनको पारी खेलेपछि पाकिस्तानले श्रीलंकामाथि दोस्रो टी–२० क्रिकेटमा एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । कोलम्बोमा शनिबार पहिलो ब्याटिङ गर्दैै श्रीलंकाले २० ओभरमा ७ विकेटको नोक्सानीमा १७२ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनायो ।

जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्धको टी–२० सिरिज उचालेको छ । दुई टी–२० सिरिजमा पाकिस्तान २–० ले नै विजयी रह्यो । पाकिस्तानलाई रोमाञ्चक जित दिलाउन कप्तान सहिद अफ्रिदीले विस्फोटक ब्याटिङ गरेका थिए । अफ्रिदीले २२ बलमा ४५ रनको योगदान दिए ।

ठूलो लक्ष्य पछ्याएको पाकिस्तान इनिङको एक समय ४०–५ को कमजोर अवस्थामा थियो । यस अवस्थामा श्रीलंकाले सहजै खेल जित्ने अनुमान गरिएको थियो ।

तर, अफ्रिदी, इमद वासिम र अलीले विस्फोटक ब्याटिङ गरेपछि श्रीलंकाको सपना तुहियो । अफ्रिदीले मोहमद रिजवानसँग छैटौँ विकेटका लागि ६१ रनको साझेदारी गर्दै पाकिस्तानलाई १३.१ ओभरमा १०१–६ को स्थितिमा पुर्‍याए ।

रिजवानले १८ बलमा एक चौकाको सहयोगमा १७ रन जोडे । छैटौँ विकेटको साझेदारीमा रिजवानले ठूलो योगदान नदिए पनि अफ्रिदीले पाकिस्तानको रनरेट उकासेका थिए ।

अफ्रिदी आउट हुँदा पाकिस्तान १०७–७ को स्थितिमा रह्यो । डेब्यु गरेका सेहन जयसुर्याले अफ्रिदीलाई क्लिन बोल्ड गरेका थिए । अफ्रिदीको विकेटसँगै श्रीलंकाको पक्षमा खेल मोडिएको थियो ।

त्यसपछि इमद र अलीबीच आठौँ विकेटका लागि ५९ रनको साझेदारी भयो । सोही साझेदारी नै पाकिस्तानको जितको आधार बन्यो । नटआउट रहेका इमदले १४ बलमा दुई चौका र एक छक्काको सहयोगमा २४ रन बनाए ।

खेलकै नायक अनवरले तीन चौका र चार छक्का प्रहार गरेका थिए । यसअघि श्रीलंकाका लागि चामरा कापुगेडेराले २५ बलमा चार छक्का र दुई चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका थिए ।

मिलिन्डा सिरिवारडनाले १९ बलमा समान एक चौका र छक्का प्रहार गर्दै २३ रन जोडे । डेब्युम्यान सेहन जयसुर्याले ३२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ४० रन बनाए । सिरिजमा पाकिस्तानका सोयब मलिक म्यान अफ दी सिरिज भए ।

श्रीलंका–पाकिस्तानबीचको खेलका हाइलाइट्स

१टी–२० संस्करणमा पाकिस्तानले पहिलोपटक ४०/५ को स्थितिबाट खेल जित्यो, हङकङले पनि नेपालविरुद्ध यस्तै रेकर्ड बनाएको छ, नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याउँदा हङकङ २१/५ को कमजोर अवस्थामा थियो ।

३ टी–२० क्रिकेटमा तीनपटक मात्र उच्च योगफल नौ विकेटको क्षतिमा पछ्याएको रेकर्ड छ, जसमा पाकिस्तानले पहिलोपटक यस्तो उपलब्धि हात पार्‍यो, सन् २०११ मा इंग्ल्यान्डले अस्ट्रेलिया, सन् २०१२ मा नेदरल्यान्डले बंगलादेशलाई हराएका थिए ।

४पाकिस्तानका कप्तान सहिद अफ्रिदीले पहिलोपटक टी–२० संस्करणमा चार छक्का प्रहार गरे, उनले २२ बलमा ४५ रन बटुले ।

७ श्रीलंका भ्रमणका क्रममा पाकिस्तानले सातौँ जित हात पार्‍यो, पाकिस्तानले दुई टेस्ट, तीन एकदिवसीय तथा दुई टी–२० खेल जित्यो, सन् १९९४ को भ्रमणमा पाकिस्तानले दुई टेस्ट र चार एकदिवसीय खेल जितेको थियो ।

४० पाकिस्तानविरुद्ध डेब्यु गरेका सेहन जयसुर्याले ४० रन बनाए, डेब्यु खेलमै ३५ रनभन्दा बढी स्कोर गर्ने उनी तेस्रो श्रीलंकाली ब्याट्सम्यान हुन्, यसअघि सन् २००७ मा श्रीलंकाका जेहन मुबारकले केन्याविरुद्ध ४६ रनको नटआउट इनिङ खेलेका थिए ।

४६अनवर अलीले नवौँ क्रममा ब्याटिङ गर्दै टी–२० संस्करणमा उच्चतम ४६ रन स्कोर गरे, यसअघि पाकिस्तानकै सोहेल तनबिरले १०औँ क्रममा ब्याटिङ गर्दै श्रीलंकाविरुद्ध नै ४१ रन बनाएका थिए ।

५४ श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा अन्तिम चार ओभरमा ५४ रन बटुल्यो, यसका लागि ब्याट्सम्यानले ३.२ ओभर मात्र खेले ।

१७४ पाकिस्तानले इतिहासमा तेस्रोपटक श्रीलंकाबाट प्रस्तुत १७४ रनको विशाल लक्ष्य पछ्यायो, यसअघि पाकिस्तानले सन् २०१२ मा बंगलादेश दिएको १७८/२ र सन् २०१५ मा जिम्बावेद्वारा प्रस्तुत १७६/८ को लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *