ताजा खबर

धनगढी पूरै डुबानमा

धनगढी,  २०७२ श्रावण १८,

शनिबार रातिदेखि परेको अविरल वर्षाले धनगढी बजार क्षेत्र डुबानमा परेको छ । केही परिवार विस्थापित भएका छन् ।

धनगढी नगरपालिकाको चटकपुर, विशालनगर, ओमशान्ति टोल, सन्तोषी टोल क्याम्पस रोड र शिवनगर हसनपुर क्षेत्रहरू डुबानमा परेका छन् । बजार क्षेत्रबाट सय जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । यसैगरी शिवनगरस्थित १५ परिवारलाई र सरसामानहरू सुरक्षित स्थानमा सारिएको छ ।

‘असुरक्षित घर भएका परिवार र सामान सुरक्षित स्थानमा सारिएको छ,’ प्रहरी उपरीक्षक विक्रम चन्दले भने, ‘डुबानमा परेका सबै टोल बस्तीका एकतले घरभित्र पानी पसेको छ ।’ उनका अनुसार ३ सयभन्दा बढी घरहरू डुबानमा परेका छन् । अधिकांश परिवार दोस्रो तला भएका छिमेकीकहाँ आश्रय लिई बसेका छन् । डुबेका घरभित्र परिवारको लत्ताकपडा, खाद्यान्न सबै भिजेको छ । इलेक्ट्रोनिक सामग्री काम नलाग्ने भएका छन् ।

डुबानका कारण आइतबार धनगढीका विद्यालय, कलकारखाना, उद्योग र बजार खुल्न सकेन । डुबान क्षेत्रमा आउजाउको समेत समस्या परेको थियो । एसपी चन्दले धनगढी डुबान क्षेत्रमा ३ सय प्रहरी परिचालन गरिएको बताए । आइतबार दिउँसोदेखि वर्षा रोकिएको छ । वर्षा रोकिएपछि डुबान क्षेत्रको पानी घट्दै गएको छ । धनगढीमा शनिबार रातिदेखि आइतबार दिउँसोसम्म १ सय १४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

पानी निकास दिनेमा विवाद

धनगढी ३ विशालनगर र वडा नम्बर ४ ओमशान्ति टोलका स्थानीयबीच पानी निकासका विषयमा विवाद सिर्जना भएको छ । विशालनगरको पानी सडक काटेर वडा नम्बर ४ तिर निकास दिन खोज्दा विवाद भएको हो । विशालनगरको गुरुद्वाराबाट आउने पानीको निकासले वडा नम्बर ४ डुबानमा पर्छ ।

विशालनगरका बासिन्दाले स्काभेटरद्वारा पानीको निकास दिन खोजेका थिए । वडा नम्बर ४ का बासिन्दाले यसरी निकास दिँदा थप डुबानमा पर्ने भन्दै प्रतिवाद गरेका थिए । प्रतिवादका क्रममा झडप हुने अवस्था आएको थियो ।

श्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *