ताजा खबर

भारतमा बाढी, सयको मृत्यु, लाखौँ प्रभावित, चार राज्यमा विध्वंस

नयाँदिल्ली, २०७२ श्रावन १८,

भारतको पश्चिम बंगाल, ओडिसा, गुजरात तथा मणिपुरमा भारी वर्षाका कारण कैयौँ क्षेत्रमा बाढी आएको छ । लाखौँ मानिस घरवारविहीन भएका छन् ।

बंगालमा बाढीका कारण ३९ जनाको मृत्यु भएको छ । एक लाख १९ हजार मानिस विस्थापित भएका छन् । त्यस्तै, ओडिसामा पाँचको मृत्यु भएको छ, पाँच लाख विस्थापित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा बाढीका कारण ५३ भन्दा धेरैको मृत्यु भएको छ । मणिपुरमा बाढीपछि आएको पहिरोमा परी २० भन्दा धेरैको मृत्यु भएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका अनुसार पश्चिम बंगलाका १२ जिल्ला प्रभावित भएका छन् । राज्यमा नौ सय ६६ शिविर राखिएको उनले बताएकी छिन् । उनले यस्तो विपत्मा पनि केन्द्रले कुनै सहयोग नगरेको आरोप पनि लगाएकी छिन् । उता, उत्तरी गुजरातमा बाढीका कारण मारिनेको संख्या ५३ नाघेको छ । कैयौँ गाउँ बाढीमा डुबेको र कैयौँ गाउँ सम्पर्कविच्छेद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राँचीका पत्रकार नीरज सिन्हाका अनुसार बंगालको खाडीबाट आएको चक्रवातका कारण झारखन्डमा विध्वंस मच्चिएको छ । ४८ घन्टायता प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति काटिएको छ, फोन लाइन प्रभावित भएको छ । राज्यको विपत् प्रबन्धन विभागले पूरै झारखन्डमा अलर्ट जारी गरेको छ । पूर्वी भारतको मणिपुर राज्यमा मुसलधारे पानीपछि पहिरो गएको थियो । पहिरोमा परी कम्तमा पनि २० जनाको मृत्यु भएको समाचार छ ।

श्रोत : नया पत्रिका

Related posts