स्वर्णसँगै सिमोनीलाई विवाह प्रस्ताव

कजान, २०७२ श्रावन १८, 
इटालीका सिमोनी रुफिनीले विश्व पौडी च्याम्पियनसिपअन्तर्गत पौडीको म्याराथनका रूपमा चिनिएको २५ किलोमिटर स्पर्धामा स्वर्ण पदक जिते।
उनलाई पदक ग्रहणका लागि पोडियममा बोलाइयो। उनी हतारिएर आफ्नो ब्याग भएको ठाउँमा पुगेर एउटा लिखित कागज निकालेर ल्याए। उनले के ल्याएर भनेर दर्शक दीर्घामा उत्सुकता छायो।
सिमोनीले पदकका लागि पोडियमा उभिँदा एउटा कागज निकालेर सबैलाई देखाए। उनले त्यसमा आफ्नै राष्ट्रकी पौडी खेलाडी आउरा पोन्सेललाई लिखित रुपमा विवाहको प्रस्ताव गरेका थिए। इटालीको पौडी टिमकी सदस्य भए पनि सिमोनले आउरालाई प्रस्ताव राख्न सकेका थिएनन्। तर स्वर्ण जितेपछि उनको हिम्मत बढ्यो र प्रस्ताव राख्न पनि भ्याए।
आउराले पनि सिमोनीलाई दःखी तुल्याइनन्। दर्शक दीर्घामा रहेकी आउराले हातको इसाराले सिमोनीको प्रस्तावलाई स्वीकार गरेको जनाउ दिइन्। सिमोनले स्वर्ण जितेको स्पर्धामा अमेरिकाका एलेक्स मायरले रजत र इटालीकै माटेओ फुर्लानले कांस्यपदक जिते। सिमोनीले प्रेमिकाले आफ्नो प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद दिए।
उनले यो आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट क्षण भएको बताए। उनले आफ्नो लक्ष्य ओलम्पिक खेलकुदमा सफलता हात पार्नु भएको पनि बताए। ‘म ओलम्पिक खेलकुदमा सफलता हात पार्न आतुर छु’, उनले भने। सिमोनीले स्वर्णपदक जित्ने क्रममा निर्धारित दूरी चार घन्टा ५३ मिनेट १०.७ सेकन्डमा तय गरेका थिए।

आउराले सिमोनीको प्रस्तावबाट आश्चर्यमा पारेको भए पनि आफूले त्यसलाई स्वीकार गरेको बताइन्। उनले रियो ओलम्पिकपछि सिमोनीसँग विवाह गर्ने जानकारी पनि दिइन्। ‘म र सिमोनी एउटै टिमका सदस्य हौं र मलाई उनको प्रतिभाप्रति गौरव थियो’, उनले भनिन्।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts