काठमाडौं, २०७२ श्रावन १८,
सरकारले चुरे विनाश गर्ने क्रसर उद्योगको म्याद पुनः थपेकोमा राष्ट्रपति डा. रामवरण यादवले आपत्ति जनाएका छन्।
सरकारले विभिन्न बहानामा क्रसर उद्योगलाई पुनः एक वर्षका लागि म्याद थप्नुको पछाडि विभिन्न जालोले काम गरेको उनको ठहर थियो। वातावरण पत्रकार तथा विज्ञसँग चुरेबारे छलफल गर्न राष्ट्रपति कार्यालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति डा यादवले भने, ‘एकातिर चुरे संरक्षण गर भनेर अर्थमन्त्री यता बजेट दिन्छन् अर्कोतिर त्यही सरकार चुरे खन्ने अनुमति दिन्छ, यो कस्तो निर्णय हो? ‘
उनले सरकारले चुरेलाई बेवास्ता गरेकोमा आक्रोश पनि व्यक्त गरे। ‘सरकारले चुरेलाई नेग्लेट गर्यो। एक वर्षका लागि खोल्यो। सारा तराई नष्ट भइसक्यो,’ क्रसरको जालो तोड्न सञ्चारमाध्यमले विशेष सहयोग गर्नुपर्ने पनि उनले बताए। ‘म त सधैं राष्ट्रपति रहँदिनँ। यो मुद्दा तपाईंहरूलाई ह्यान्डओभर गरें अब चुरे बचाइदिनुस्, यसभित्रको जालो पत्ता लगाउनुस्।’
चुरे संरक्षणका लागि मन्त्रालयका बीच समन्वय नहुँदा झन् समस्या बढेको उनको ठहर छ। मन्त्रालय तथा विभागहरूले समितिलाई नटेरेकोमा डा. यादवले गुनासो गरे। छेवैमा रहेका राष्ट्रपति चुरे तराईमधेस संरक्षण विकास समितिका सदस्य विजय सिंहप्रति लक्षित गर्दै भने, ‘तपाईंहरू चुरेमा प्रत्यक्ष सरोकार राख्ने सडक, बिजुली, बाटो, स्थानीय, वन तथा वातावरण मन्त्रालयलाई सँगै लिएर अघि बढ्न सक्नुहुन्छ? ‘
चुरेप्रति सरोकारवाला मन्त्रालय तथा सरकारले नै अपनत्व नलिएको उनको आसय थियो। चुरे विनाशका लागि क्रसर उद्योग दोषी भएको निष्कर्ष सुनाउँदै राष्ट्रपतिले तराईमा खानेपानी र अन्न अभाव बढेको अनुभव सुनाए।
उनले आफ्नै घर (जनकपुर) मा २०३६ सालमा ४० मिटर खन्दा पम्पमा पानी आउँथ्यो। यसपालि घरछेउमा चार सय २२ मिटर खन्दामात्रै पानी आएको घटना सुनाउँदै चुरे विनाशले तराईलाई मरुभूमीकरणतर्फ उन्मुख गराएको बताए।
‘सरकारले चुरेलाई नेग्लेट गर्यो। एक वर्षका लागि खोल्यो। सारा तराई नष्ट भइसक्यो।’ -डा.रामवरण यादव,राष्ट्रपति
आफ्ना छिमेकी रामप्रीत साह र रीतेश्वर साहले आँगनमा पम्प राख्न खोज्दा चार सय २२ मिटरमा मात्रै पानी आएको सुनाउँदा तराईको अवस्था विकराल भइसकेको उनको निष्कर्ष छ।पानी नपरेर तराईमा धान रोपाइँ नभएकाले खाद्यान्न संकट झन् चर्को हुने उनको अनुमान थियो।
बिहान बीबीसीको भूउपग्रह तस्बिरमा आधारित मौसमी अवस्था हेर्दा तराईका पाँच जिल्लामा बादलसमेत नदेखिएको राष्ट्रपतिले बताए। ‘आज बिहान स्याटलाइट इमेज हेर्दै थिएँ। धनुषा, सिरहा, सप्तरीलगातका जिल्लामाथि बादलसमेत छैन। पानी नपरेर २० प्रतिशत पनि रोपाइँ भएको छैन’, अन्नभण्डार नासिँदै गएकाले अबको ५० वर्षभित्र तराईबाट पहाड बसाइँ सर्ने क्रम तीव्र हुने उनको अनुमान थियो।
‘मैले पनि बयलगाढामा धान बेच्न भारत लैजान्थें अहिले आयातमात्रै छ। माछा, फलफूल, दूध केही पनि आयात हुँदैनथ्यो। गरिबले समेत मज्जाले खान्थे तर अहिले सबै कुरा आयात हुन्छ’, राष्ट्रपतिले यी सबै कारणको दोष वातावरणीय विनाशलाई दिए।
![]()
![]()
![]()
तराईमधेस तथा पहाडका बीच तिक्ततापूर्ण अवस्था नहोस् भन्ने आसयले तराई, मधेस र पहाडलाई जोडेर संरक्षण अभियान थालिएको उनको भनाइ थियो। करिब तीन घन्टा लामो छलफलमा राष्ट्रपतिले पटकपटक सञ्चारमाध्यमलाई चुरे बचाइदिन आग्रह गरे। राजनीतिक विषयमा नबोलेका राष्ट्रपति यादवले दलहरूलाई विधि र प्रक्रिया नछोडी संविधान जारी गर्न बारम्बार भनिरहेको प्रसंग उप्काएका थिए।
श्रोत : अन्नपुर्ण पोस्ट