ताजा खबर

नेपाल ९ विकेटले पराजित

आयर, २०७२  साउन १७,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा नेपाल ९ विकेटको भारी अन्तरले पराजित भएको छ । दोस्रो पराजयसँगै आइसिसीको एसोसिएट तथा एफिलिएट राष्ट्रबीचको महत्त्वपूर्ण प्रतियोगितामा नेपालले सुखद सुरुवात गर्न सकेन । पहिलो खेलमा पनि ३ रनले पराजित नेपाल दोस्रो पराजयसँगै ८ टोली सम्मिलित प्रतियोगिताको अंक–तालिकामा अन्तिमबाट दोस्रो स्थानमा छ । स्कटल्यान्ड भने नेपालविरुद्धको सिरिजमा २–० को जितसहित अंक–तालिकाको दोस्रो स्थानमा छ ।

शुक्रबार टस हारी ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । जवाफी इनिङ सुरु हुनुअघि वर्षाले खेल अवरुद्ध बनाएपछि स्कटल्यान्डको डकवर्थ लेविस नियमअनुसार २२ ओभरमा जितका लागि ११० रनको लक्ष्य पाएको थियो । शुक्रबार नै अबेर लक्ष्य पछ्याउन सुरु गरेको स्कटल्यान्डले १.४ ओभरमा १५ रन बनाउँदा फेरि वर्षा सुरु भएपछि खेल पूरा हुन पाएन । स्कटल्यान्डले सोही अवस्थाबाट शनिबार लक्ष्य पछ्याउँदै १३.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । स्कटल्यान्डको जितमा विकेटकिपर म्याथ्यु क्रसले सर्वाधिक नटआउट ५१ रन जोड्दा ओपनर जर्ज मुन्से पनि ४० रनमा नटआउट रहे । क्रसले ३७ बलमा ४ चौका तथा २ छक्काको मद्दतले अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै ४१ बल खेलेका मुन्सेले ५ चौका तथा २ छक्का प्रहार गरेका थिए । अर्का ओपनर किल कोइजर ७ रनमा आउट भए । उनलाई सोमपाल कामीले बोल्डआउट गराएका थिए । नेपालका तर्फबाट सोमपालबाहेक अन्य कसैले पनि विकेट लिन सकेनन् । स्कटल्यान्डका लागि क्रस र मुन्सेले दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए । कमजोर ब्याटिङ गरेको नेपालका लागि भने अघिल्लो दिन शरद भेसवाकरले ३० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । स्कटल्यान्डविरुद्धको सिरिज पराजयसँगै नेपालको युरोप यात्रा पनि खराब बनेको छ ।

आइसिसीको तीन महत्त्वपूर्ण प्रतियोगिताका लागि ४० दिनको युरोप भ्रमणमा निस्किएको नेपालले कुनै पनि प्रतियोगितामा सुखद् नतिजा निकाल्न सकेन । नेपालले नेदरल्यान्डविरुद्धको चार खेलको टी–२० सिरिज ३–१ ले गुमायो भने स्कटल्यान्डमा सम्पन्न आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगितामा पनि खराब प्रदर्शन गर्‍यो । नेपालले यसपटक छनोट अवसर मात्रै गुमाएन, समूह चरणमै अन्तिममा सीमित हुन पुग्यो । अभिनाश र पृथुलाई अवसर स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा प्रशिक्षक पुबुदु दासानायकेले मिडियम पेसर अभिनाश कर्ण र अलराउन्डर पृथु बास्कोटालाई मौका दिए । पुबुदुले राजेश पुलामी र करण केसीलाई बाहिर राखेर उनीहरूलाई अवसर दिए । बुधबारको प्रतिस्पर्धामा करण र राजेश टोलीमा थिए । प्रशिक्षक पुबुदुले इंग्ल्यान्डको स्थानीय क्लबविरुद्ध शतकीय इनिङ खेलेका पृथुलाई टोलीमा स्थान दिएका हुन् । पृथुले प्राप्त अवसरमा १६ रन मात्र बनाए । उनले ४२ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । १२७ बल डट नेपाली ब्याट्सम्यानले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

युरोप भ्रमणमा पहिलोपटक आत्मविश्वासी ब्याटिङ गरेको नेपाली ब्याट्सम्यान दोस्रो खेलमा फेरि कमजोर देखियो । स्कटिस बलरको घातक बलिङको सामना गर्न नसक्दा नेपाली ब्याट्सम्यानले ५० ओभरमा ३.३९ को औसतमा मात्र ब्याटिङ गरेका थिए । ४९.१ ओभरमा अलआउट भएको नेपालको इनिङमा १२७ बल डट रह्यो । भेट्रान्स ब्याट्सम्यान शक्ति गौचनले २४ स्ट्राइकमा ब्याटिङ गर्दा ४ रन मात्र बनाए । उनले २६ बलको सामना गरेका थिए । नेपालको कमजोर ब्याटिङ इनिङमा शक्ति नटआउट रहे । मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकरले ४५.४५ स्ट्राइकमा ब्याटिङ गरे । उनले ६६ बलमा ३० रन जोडे । सिरिजमा पहिलोपटक स्थान बनाएका पृथुको ब्याट सुस्तगतिमा चल्यो । उनले ४२ स्ट्राइकमा १६ रन मात्र बटुले । १५ बाउन्ड्री मात्र स्कटिस बलर इभान्स र सरिफले अनुशासित रूपमा बलिङ गरेका कारण नेपाली ब्याट्सम्यानले उत्कृष्ट स्ट्रोक र सट लगाउन सकेनन् । स्कटिस खेलाडीले फिल्डिङमा चुस्त पारेपछि नेपालको ब्याटिङ इनिङमा केवल १५ पटक मात्र बलले बाउन्ड्री पार गरेको थियो । नेपालका ब्याट्सम्यानले १३ चौका र दुई छक्का हिर्काए । प्रदीप ऐरी र पृथुले मात्र एक–एक छक्का ठोके । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाली ब्याट्सम्यानले ६.४४ रनरेटमा ब्याटिङ गरेका थिए ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *