ताजा खबर

एन्डरसन र रुटले गरे र्‍याङकिङमा सुधार

लन्डन, २०७२ श्रावन १७,

इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टेस्ट बलरको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । एसेज सिरिजअन्तर्गत एजबस्टनमा शुक्रबार सम्पन्न तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका एन्डरसनले आइसिसीको र्‍याङकिङमा व्यापक सुधार गरेका हुन् । उनकै बलिङले गर्दा इंग्ल्यान्डले अस्ट्रेलियालाई तेस्रो दिनमै ८ विकेटले पराजित गरेको थियो । एन्डरसनले ६२ रन दिएर ७ विकेट लिएका थिए । १०७औँ टेस्ट म्याच खेलेका एन्डरसन शीर्ष स्थानका दक्षिण अफ्रिकी बलर डेल स्टेनभन्दा पछि छन् । हालै ३३ वर्ष पुगेका एन्डरसन स्टेनभन्दा ८० अंकले पछि छन् ।

एन्डरसनले एसेज सिरिजअन्तर्गतका बाँकी टेस्ट गुमाउने पक्का भएको छ । एन्डरसनसँगै अर्का बलर स्टेभन फिनले पनि आइसिसी र्‍याङकिङमा व्यापक सुधार गरेका छन् । दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका फिन १९औँ स्थानमा छन् । उनले एजबस्टनमा ११७ रन दिएर ८ विकेट लिएका थिए । अस्ट्ेरलियन बलर मिचेल जोन्सनको स्थान भने खस्किएको छ । उनी स्टुआर्ट ब्रोडसँगै संयुक्त रूपमा पाचौँ स्थानमा छन् । बर्मिंघममा भएको टेस्टमा जोन्सनले ३ सय टेस्ट विकेट कटाएका थिए । तेस्रो टेस्टमा पराजयका बाबजुद अस्ट्ेरलियन तीव्र गतिका बलर जोस हाजलउडले आइसिसी र्‍याङकिङमा करिअरकै उत्कृष्ट सुधार गरेका छन् । हाजलउडले तीन स्थान सुधार गर्दै १४औँ स्थान सुरक्षित गरेका छन् । उनले चालू एसेज सिरिजमा १४ विकेट लिइसकेका छन् ।यस्तै नाथन लियोनले पनि एक स्थान सुधार गरेका छन् । उनी १५औँ स्थानमा छन् ।

टेस्ट ब्याट्सम्यानको सूचीमा भने अस्ट्ेरलियन स्टेभन स्मिथले आफ्नो शीर्ष स्थान कायम राखेका छन् । इंग्ल्यान्डका जोई रुट तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगे । उनले तेस्रो टेस्टको पहिलो इनिङमा ६३ तथा दोस्रो इनिङमा नटआउट ३८ रन जोडेका थिए । ३०औँ टेस्ट म्याच खेलेका रुटले हालसम्म सात शतक तथा १३ अर्धशतक प्रहार गरेका छन् । उनी दोस्रो स्थानका दक्षिण अफ्रिकी ब्याट्सम्यान एबिडी भिलियर्सभन्दा १७ अंकले पछि छन् । इयान बेल ६ स्थान सुधार गर्दै ३०औँ स्थानमा पुगेका छन् । यस्तै इंग्ल्यान्डका मोइन अली पनि ११ स्थान सुधार गर्दै करिअरकै उत्कृष्ट ५२औँ स्थानमा पुगेका छन् । इंग्ल्यान्डविरुद्धको सिरिजमा कमजोर प्रदर्शनसँगै अस्ट्ेरलियन ब्याट्सम्यानले आफ्नो स्थान गुमाएका छन् । अस्ट्रेलियन कप्तान माइकल क्लार्क दुई स्थान तल झर्दै २२औँ स्थानमा पुगेका छन् । अलराउन्ड प्रदर्शन गरेका मिचेल स्टार्क चार स्थान सुधार गर्दै ८३औँ स्थानमा पुगेका छन् । २५ वर्षीय स्टार्कले पहिलो इनिङमा ११ तथा दोस्रो इनिङमा ५८ रन जोडेका थिए ।

श्रोत : नया पत्रिका

Related posts