ताजा खबर

मर्केलले चौथोपटक पनि उम्मेदवारी दिने

बर्लिन, २०७२  साउन १७,

जर्मन चान्सलर एन्जेला मर्केलले चौथो कार्यकालका लागि पनि उम्मेदवारी दिने तयारी गरेकी छिन् । उनीनिकट नेता तथा चान्सलर कार्यालयका अधिकारीलाई उद्धृत गर्दै मर्केलले २०१७ मा हुने निर्वाचनको तयारी सुरु गरिसकेको जर्मन पत्रिका डेर स्पाइगेलले शनिबार लेखेको छ । मर्केलको क्रिस्चियन डेमोक्रेट (सिडियु) पार्टीले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । ६१ वर्षीया मर्केलले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । तर, पछिल्ला दिनमा उनले विभिन्न ठाउँमा भाषण गर्दा चौथोपटक पनि चुनावी रेसमा आफू समावेश हुने संकेत गर्दै आएकी छिन् । सन् २००८ देखि जर्मन चान्सलर पदमा लगातार रहँदै आएकी मर्केलले ग्रिक संकट व्यवस्थापन तथा जर्मनीको अर्थतन्त्र व्यवस्थापनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको मानिँदै आएको छ । जर्मनीमा कतिपटकसम्म चान्सलर हुन पाउने भन्नेबारे कुनै सीमितता छैन । त्यसैले, मर्केल चौथोपटक पनि चान्सलरमा विजयी हुन सक्ने विश्लेषण छ । यसअघि पनि उनकै पार्टीका हेल्मुट कोलले १६ वर्ष लगातार जर्मनमा चान्सलर पद समालेका थिए ।

‘मर्केलले यही विषयमा पार्टीको मुख्यालयमा बैठक पनि गरिसकेकी छिन्,’ पत्रिकाले लेखेको छ, ‘सिडियुका महासचिव पिटर टाउबरलाई निर्वाचन अभियानको संयोजक बनाउने निर्णय पनि भइसकेको छ । त्यसैअनुरूप पार्टीले निर्वाचन अभियानका लागि नयाँ मानिस अनुबन्ध गर्न थालिसकेको छ ।’ मर्केलको लोकप्रियताका कारण उनले उम्मेदवारी दिए चौथोपटक पनि चान्सलर हुने विपक्षी दलका प्रभावशाली नेताले पनि भनेका छन् । विपक्षी नेता होल्स्टेनले शनिबार मर्केलले फेरि उम्मेदवारी दिने तयारी गरेको समाचार आएपछि प्रतिक्रिया दिएका छन्, ‘उनले राम्रो काम गरिरहेकी छिन्, यदि उनले निर्वाचनमा उम्मेदवारी दिने हो भने उनलाई सर्वसम्मत चान्सलर बनाउँदा राम्रो हुन्छ ।’

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *