ताजा खबर

तीन वर्षमा बाघ दोब्बर

नेपालगन्ज,  २०७२ श्रावण १७,

तीन वर्षमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या झन्डै दोब्बर भएको छ । बासस्थान विस्तार भई आहारा प्रजाति समेत बढेकाले बाघको उत्साहजनक वृद्धि भएको निकुञ्जले जनाएको छ ।

‘अघिल्लो गणनाभन्दा बाघको संख्या झन्डै दोब्बर बढेको पाइयो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक टीकाराम अधिकारीले कान्तिपुरसित भने, ‘यो वर्षको बाघ गणनामा बाँके निकुञ्जमा कम्तीमा ७ वटा बाघ रहेको भेटियो ।’

बाघको बासस्थान विस्तारका लागि ०६७ वैशाखमा निकुञ्ज घोषणा गर्दा बाँकेमा बाघ भए/नभएको समेत टुंगो थिएन । सन् २०१२ को बाघ गणनामा तीन वटा पाटे बाघ क्यामरा ट्रयापिङमा परे । जीवशास्त्रीय विश्लेषणपछि कान्छो निकुञ्जमा कम्तीमा चार वटा बाघ रहेको घोषणा गरिएको थियो । दुई महिनाअघि गरिएको गणनामा बाघ झन्डै दोब्बर वृद्धि भएको पाइएको हो ।

वनको हैसियत सुध्रिएको र आहारा प्रजाति पनि बढेकाले बर्दिया निकुञ्जबाट बाघ बाँके सर्ने क्रम सुरु भएको महानिर्देशक अधिकारीले बताएका छन् । ‘जे उद्देश्यले निकुञ्ज स्थापना गरिएको हो, त्यो बिस्तारै पूरा हुँदै छ । बाँके बाघको राम्रो वासस्थान हु‘दै छ,’ उनले भने, ‘आन्तरिक योजनाका लागि गरिएको गणनाको नतिजाले उत्साहित बनाएको छ ।’ यसपटकको गणनामा पाँच वटा वयष्क पाटेबाघ क्यामरा ट्यापिङमा परेको अधिकारीले बताए । पानीको स्रोत कम रहेको चुरे फेदीको बाँके निकुञ्जका लागि बाघ गणनाको उपयुक्त मौसम नभए पनि राम्रै संख्यामा बाघ देखिएको निकुञ्ज अधिकारीहरूले बताएका छन् । ‘बाघको उत्साहजनक वृद्धि भएको छ । आन्तरिक गणना भएकाले संरक्षणका थप रणनीति बनाउन सहयोग पुग्नेछ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले भने ।

बाघसँगै आहारजन्य प्रजाति जरायो, चित्तल, रतुवा पनि प्रशस्तै देखिएको गणनामा संलग्नहरूले बताएका छन् । बाँकेमा संरक्षित चौसिँगा झन्डै साढे २ सयको संख्यामा रहेको छ । बर्दियामा बबई भ्याली, शुक्लाफाँटाबाहेक चौसिँगा यहाँमात्र पाइन्छ । त्यसैले बाँके निकुन्जको लोगोमा समेत चौसिँगा राखिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा विस्तृत बाघ गणना भने दुई वर्षपछि गरिने संरक्षण अधिकृत पन्तले बताए । सरकारले वन्यजन्तुको वासस्थान विस्तार र जैविक मार्ग बढाउन, चुरे क्षेत्रको संरक्षण गर्न र बाघको संख्या वृद्धि गर्न ०६७ वैशाख ३० गते बाँके राष्ट्रि्रय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको घोषणा गरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका बाँके, दाङ, सल्यान र बर्दियाको करिब ८ सय ९८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर बाँके राष्ट्रिय निकुञ्ज बनेको छ ।

श्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *