काठमाडौ, श्रावण १७, २०७२,
प्रधानमन्त्री सुशील कोइरालाले नेपाल–चीन सम्बन्ध समस्यारहित र आपसमा असल सहयात्रीका रूपमा रहेको बताएका छन् । चीन नेपालको निकै विश्वासिलो, विकासमा सहयोग गर्ने महत्त्वपूर्ण सारथि रहेको उनले बताए ।
नेपाल चीनको कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा परराष्ट्र मन्त्रालयले शनिबार गरेको रात्रिभोज सहितको कार्यक्रममा कोइरालाले भूकम्पपछि चीनले राहत तथा उद्धारकार्यमा देखाएको उत्साह र सहयोगप्रति पनि आभार व्यक्त गरे ।
‘चीनले नेपालको विकासमा सधैं सद्भावको साथै विकास प्रक्रियामा समेत सहयोग गर्नेछ,’ उनले भने, ‘नेपाल पनि चीनको आन्तरिक मामिलामा निकै संवेदनशील छ र एक चीन नीतिमा अडिग छ ।’
चीनसँगको नेपालको सहकार्य र सम्बन्ध भनेको एसियाली मुलुकको विकास र सहकार्यको सम्बन्ध रहेको समेत उनले बताए ।
उनले नेपाल चीन दुवैमा राजनीतिक उतारचढाव यो ६ दशकमा रहेको पनि बताए । संविधान जारी गर्ने प्रक्रियामा मुलुक रहेको भन्दै प्रधानमन्त्री कोइरालाले संविधान आएपछि मुलुकले राजनीतिक स्थायिस्त्व पाउने र विकास प्रक्रिया पनि अघि बढ्ने हुनाले चीनजस्ता छिमेकको सहयोग र सद्भाव झन् टड्कारो रूपमा रहेको बताए ।
दुई देशबीच कूटनीतिक सम्बन्ध औपचारिक रूपमा स्थापित भएको ६०औं वर्षगाँठका अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एक–अर्कामा बधाई सन्देश आदानप्रदान गरेका थिए । दुवैले एक–अर्का मुलुकको उत्तरोत्तर प्रगति र दिगो शान्तिमा जोड गरेका थिए ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि नेपाल–चीन सम्बन्ध निकै सुमधुर रहेको र आउँदा दिनमा धेरै सहकार्य हुँदै अघि बढ्न आवश्यक रहेको बताए । सञ्चारमन्त्री मीनेन्द्र रिजालले पनि चीन नेपालको सच्चा मित्र र विकास सहयात्री रहेको बताए । चिनियाँ राजदूत उ छुन्थाईले चीन–नेपाल सम्बन्धलाई अझ उचाइमा लैजान चीनका राष्ट्रपति सी जिनपिङले गरेको प्रणलाई सुनाउँदै भने, ‘नेपालको विकासका लागि चीन सधैं सँगै रहेको दोहोर्याउन चाहान्छु ।’
दुई देशका जनताबीचको सम्बन्ध थप घनिष्ट बनेको बताएका छन् । नेपालको विकास र पुनर्निर्माणमा चीनले नेपाल सरकरको फ्रेमभित्र रहेर खुलेर सहयोग गर्ने पनि बताए ।
त्यस अवसरमा दुई देशको सम्बन्धको प्रतीकका रूपमा नेपाल र चीनको झन्डाअंकित र छायामा हिमाल रहेको २० रुपैयाँको हुलाक टिकटमा टाँचासमेत लगायो । उक्त टिकट पाँच लाखप्रति छापिएको जानकारी दिइएको छ ।
श्रोत : कान्तिपुर