ताजा खबर

सेयर बजारमा ३ अर्बको कारोबार

काठमाडौ,  २०७२ श्रावण १७,

यस साता सेयर बजारमा ३ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । स्टक एक्सचेन्जका अनुसार यस साता ७१ लाख ९४ हजार सात सय २० कित्ता सेयरहरू खरिद बिक्री भए । अघिल्लो बिहीबार सार्वजनिक भएको मौद्रिक नीतिको प्रभाव यस साता बजारमा देखियो ।

यस साता हालसम्मकै एक दिनको धेरै कारोबार भयो । एकै दिन १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम भयो । एकै दिन ५० अंकले नेप्से परिसूचक पनि बढेको थियो । मौद्रिक नीतिले वित्तीय संस्थाहरूको चुक्ता पुँजी दुई वर्षमा चार गुणा बढाउनुपर्ने घोषणा गरेपछि अघिल्लो बिहीबार र यस साताको सुरुमा परिसूचक निकै तेजीले बढेको थियो ।

त्यसपछि बजार स्वाभाविक लयमा फर्किन थालेको थियो । साताको दोस्रो दिनदेखि नै परिसूचक घट्न थालेको थियो । साता अन्त्यमा परिसूचक पहिलो दिनको तुलनामा २५ दशमलव ९७ अंकले घटेर अन्तिम दिन एक हजार २७ दशमलव ९८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ८६ अंकले घटेर २ सय २० दशमलव ९८ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकम (२२ करोड ४४ लाख ९० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रह्यो । त्यसैगरी कारोबार भएको सेयर संख्या (दस लाख ६९ हजार कित्ता) को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा थियो । त्यसैगरी कारोबार संख्या (५७७ वटा) को आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रह्यो ।

श्रोत : कान्तिपुर

Related posts