
काठमाडौं , २०७२ श्रावन १७,
सर्पले टोकेका बिरामी निको बनाउने औषधि एन्टी स्नेक भेनम नेपालमै उत्पादन गर्ने घोषणा सरकारले गरे पनि यो सहज भने छैन । औषधि बनाउन चाहिने सर्पपालनका लागि नेपालको नीति बाधक छ । हजारौं सर्पको निरन्तर खेती, घोडा फार्म र प्रविधि नभएसम्म एन्टी स्नेक भेनम उत्पादन एकादेशको कथामात्रै हुनेछ ।
गर्मीयामसँगै सर्पको बिगबिगी बढेपछि हरेक वर्ष एन्टी स्नेक भेनमको चर्चा हुन्छ । विज्ञका अनुसार नेपालमै एन्टी स्नेक भेनम बनाउन सकिने भए पनि त्यो सजिलो छैन । सरकारले सबैभन्दा पहिले सर्पपालनका लागि नीतिमै परिवर्तन गर्नुपर्नेछ भने प्रविधि तथा दक्ष जनशक्तिको व्यवस्थापन झन् महत्वपूर्ण छ ।
सर्पको विषबाटै बनाइने औषधि (एन्टी स्नेक भेनम) लाई सर्पको टोकाइ निको बनाउने रामवाण मानिन्छ । सर्पमा अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करनबहादुर शाहका अनुसार हजारौं सर्प पाल्दा मात्रै थोरै एन्टी स्नेक भेनम बनाउन सकिन्छ । यसका लागि ठूलो घोडा फार्मसमेत चाहिन्छ । शाह भन्छन्, ‘नेपालमा एन्टी स्नेक भेनम निकाल्न हजारौं सर्प पाल्नुपर्छ, त्यसअघि सर्पको विस्तृत अध्ययन गर्न जरुरी छ ।’
स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने एन्टी स्नेक भेनम नेपाललाई चाहिने नेपालमै निकाल्न सकिने भए पनि विस्तृत योजनासहितको तयारी भइनसकेको बताए । विज्ञका अनुसार सर्पको विष निकालेर थोरैथोरै गरी मात्रा बढाउँदै घोडालाई दिइन्छ । हरेक महिना मात्रा बढाउँदै करिब एक वर्षसम्म घोडालाई सुईमार्फत विष दिएपछि घोडामा प्रतिरक्षात्मक पदार्थ (एन्टी बडी) बन्छ ।
एक वर्षसम्ममा घोडाको रगतमा धेरै शक्ति जम्मा भइसकेको हुन्छ । विष दिने क्रम सकिएपछि घोडाबाट रगत (सेल होइन सिरम मात्रै) निकालिन्छ र शुद्धीकरण गरिन्छ । घोडाबाट निकालिएको रगतमै प्रतिरक्षात्मक पदार्थ (एन्टी बडी) हुन्छ, जसले औषधिका रूपमा काम गर्छ ।
विज्ञका अनुसार अवस्था हेरेर एउटा घोडाबाट बढीमा १६ सय भायलसम्म एन्टी स्नेक भेनम निकाल्न सकिन्छ । एन्टी स्नेक भेनम बनाउन विषालु सर्पको विष अलगअलग निकाल्नुपर्छ । कोब्राले टोकेको औषधिका रूपमा कोब्राकै एन्टी स्नेट भेनम प्रयोग गर्नुपर्छ । तर नेपालमा आउने एन्टी स्नेक भेनम भने पोली भेलेन्ट (चार प्रकारका विष मिसाएर बनाइएको) हो । नेपालमा पनि चार प्रकारका विषालु सर्पको विष एकै ठाउँमा मिसाएर बनाउन सकिन्छ ।
सर्पले टोकेको बिरामीलाई आठदेखि १० वटा एन्टी स्नेक भेनम दिँदा बाँच्ने प्रशस्तै सम्भावना हुन्छ । गम्भीर बिरामीलाई भने सुरुमै दुईतीनवटा सुई सीधै नसामा दिइन्छ । सामान्यतया विषालु सर्पमध्ये करेतको सात मिलिग्राम विषले मान्छेको ज्यान जान सक्छ । त्यस्तै गोमनको १२ तथा रसेल्सको १५ मिलिमिटर विषले मान्छेको ज्यान खतरामा हुन्छ ।
सर्पले मान्छे टोक्दा त्योभन्दा बढी विषसमेत शरीरभित्र प्रवेश गरेको हुन सक्छ । ‘राजगोमनले २० देखि २५ जना वयस्क मान्छे मार्न सक्ने विष निकाल्न सक्छ’, प्राध्यापक शाहले भने । विश्व स्वास्थ्य संगठनको एउटा अध्ययनअनुसार नेपालमा वर्षभरमा १० हजारभन्दा बढी सर्प टोकाइका घटना हुन्छन् भने करिब दुई सयजनाको मृत्यु हुन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सर्पले टोकेका एक सयजना त उपचारका लागि अस्पताल नै पुगेका हुन्छन् ।
नेपालमा पहिचान भएकामध्ये २१ प्रजातिका सर्प विषालु छन् । यीमध्ये पनि १० वटा अति विषालु छन् । विषालु सर्प नेपालको तराईदेखि ४८ सय मिटरको उचाइसम्म पाइन्छन् । तीन प्रजातिका गोमन, पाँच प्रजातिका करेत, मुगासाप तथा रसेल्स भाइपर (बाघे सर्प) सबैभन्दा धेरै विषालु हुन्छन् ।
‘नेपालमा विषालु सर्प’ नामक पुस्तकका लेखकसमेत रहेका प्राध्यापक शाहका अनुसार विष भएकाले भन्दा नभएका सर्पले टोकेका घटना संसारमा धेरै हुन्छन् । राजगोमन संसारकै सबैभन्दा ठूलो सर्प हो । यो १८ मिटरसम्म लामो हुन्छ । जानकारका अनुसार यसले सर्पलाई नै आफ्नो आहार बनाउँछ । विदेशी विशेषज्ञसहितको संलग्नतामा प्रकाशित उनको पुस्तकका अनुसार सर्पले कसैलाई टोक्यो र विष शरीरभित्र पस्दा त्यसले कुनै न कुनै असर देखाउन थाल्यो भने त्यसलाई विषालु सर्पले टोकेको मान्नुपर्छ ।
अध्ययनअनुसार सर्पको विष एक प्रकारको प्रोटिन हो । यो सर्पको विष ग्रन्थीमा हुन्छ । सर्पले आफ्नो आहारको जोहो गर्न तथा खाना पचाउन यसको प्रयोग गर्छ । सर्पको मुखमा भएका दुईवटा विष दन्तमार्फत विष ग्रन्थीमा भएको विषालु प्रोटिन मानिसका शरीरभित्र प्रवेश गर्छ । शाहका अनुसार विष दन्तको भित्री भाग खोक्रो हुन्छ ।
त्यही खोक्रो दाँत हुँदै विष ग्रन्थीबाट आएको विष मानिसलाई टोक्दा शरीरभित्र पस्छ । अध्ययनअनुसार सर्पको विषले मानिसको शरीरमा दुई प्रकारको असर देखाउँछ । एक प्रकारको विषले रक्त सञ्चार प्रणाली र अर्कोले स्नायु प्रणालीमा असर गर्छ ।
अहिलेसम्मको अध्ययनअनुसार नेपालमा ७९ प्रजातिका पाइन्छन् । सर्पमा अध्ययन गरिरहेका प्राध्यापक शाह भने योभन्दा धेरै प्रजातिका सर्प नेपालमा हुने सक्ने बताउँछन् । ‘अहिलेको अध्ययन पूर्ण छैन । कम्तीमा पनि एक सयभन्दा बढी प्रजातिका सर्प नेपालमा पाइन्छन्,’ शाह भन्छन् । संसारमा भने ३४ सय प्रजातिका सर्प पाइन्छन् ।
![]()
![]()
![]()
जाडोयाममा लुक्ने सर्प गर्मी र वर्षासँग बाहिर निस्कन्छन् । पछिल्लो समयमा सहरी क्षेत्रमा बासस्थान अभावका कारण सर्प देखिन छोडेको विज्ञहरूको अनुमान छ । जंगल तथा गन्ध नआउने ठाउँ सर्पले मन पराउँछ । ‘सहरमा सर्पको बासस्थान नै मासिन थाल्यो । खाने कुरा र बस्ने सुरक्षित ठाउँ नहुँदा उनीहरू टाढिए’, प्राध्यापक शाहले भने ।
श्रोत : अन्नपुर्ण पोस्ट