
कांग्रेसले खुमबहादुरलाई बैठकमै बोलाएन
काठमाडौं, २०७२ श्रावन १७,
मुलुक विखण्डनको वकालत गरिरहेका नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न पार्टी संसदीय दल र केन्द्रीय सदस्यहरूबीचबाटै आवाज उठेको छ ।
कांग्रेस केन्द्रीय सदस्य र संसदीय दलको शुक्रबार बसेको बैठकका सदस्यहरूले अमरेशलाई तत्काल पार्टीभित्रबाट कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
त्यस्तै, पार्टीको धर्मनिरपेक्षताको आधिकारिक लाइनविपरीत हिन्दु राष्ट्रका लागि राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई शुक्रबार बैठकमा नबोलाएर पार्टी सभापति तथा प्रधानमन्त्रीले उनीप्रति आफ्नो अप्रसन्नता व्यक्त गरेका छन् ।
एक साताअघिमात्र गोरक्षनाथ पीठ (गोरखपुर) का प्रमुख तथा भारतका लोकसभा सदस्य महन्थ आदित्यनाथको उपस्थितिमा खड्काले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको खुलेर आलोचना गर्दै नेपाललाई तत्काल हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग सार्वजनिक रूपमै राखेका थिए ।
बैठकमा सभासद् रामहरि खतिवडाले विखण्डनको अभिव्यक्ति सिंह आफैंले दिएको हो कि त्यसमा प्रधानमन्त्रीको इसारा छ भन्दै प्रश्न गरेका थिए । खतिवडाले बैठकमा भने, ‘आफ्नो निजी खेतबारी बिक्री गर्न लागेझैं मुलुक टुक्र्याउन पाइँदैन ।’ खतिवडाको भनाइलाई समर्थन गर्दै अर्का सभासद् केशवकुमार बुढाथोकीले राष्ट्र विखण्डनको नारा दिनेमाथि कारबाही गर्न माग गरे ।
केन्द्रीय कार्य समिति सदस्य बलबहादुर केसीले अमरेशमाथि कारबाही हुनुपर्ने माग उठाएपछि सभापति कोइरालाले अनुशासन समितिमा यो विषय पठाउने जानकारी दिएको स्रोतले बतायो । केसीले सभापति कोइरालासँग ‘सभासद् सिंहको विषय कारबाहीका लागि अनुशासन समितिमा पठाएको हो कि हामीलाई टार्न’ भन्दै कोइरालालाई सोधेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बैठकमा यो विषय उठे पनि आधिकारिक निर्णय नभएको बताए ।
उता, कांग्रेसका प्रभावशाली नेता खड्काले शुक्रबार बसेको संयुक्त बैठकमा आफूलाई नबोलाएको जानकारी दिए । उनले भने, ‘आज बसेको संयुक्त बैठकबारे पछि मात्र थाहा पाएँ । हिन्दु राष्ट्रका पक्षमा मैले चलाएको अभियानबाट केही नेताहरू डराएर नबोलाएको हुन सक्छ ।’
संयुक्त बैठकमा आफूलाई नबोलाउनु ठूलो विषय नभए पनि कांग्रेसलाई प्रजातान्त्रिक र सांगठनिक रूपमा अघि बढाउने हो भने विधि र विधान मान्नुपर्ने उनले बताए । केन्द्रीय कार्यालयका पराजुलीले भने खड्कासँग सम्पर्क हुन नसकेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकले जनताबाट प्राप्त रायसुझाव एवं विगतमा कांग्रेसले लिएका निर्णयलाई ध्यान दिई संविधानसभामा रहेका प्रमुख दलहरूसँग सहमति गरेर संविधानको मस्यौदा परिमार्जन गर्ने जिम्मेवारी नेतृत्वलाई दिएको छ । संविधान निर्माणका क्रममा पार्टीले लोकतान्त्रिक मूल्यमान्यता र परम्परा छोड्न नसक्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेससँग दुई तिहाइ नभएकाले संविधान निर्माणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न केही समय चाहिने बताए । स्रोतका अनुसार उनले धार्मिक स्वतन्त्रताबारे उल्लेख गर्दै बैठकमा भने, ‘लामो समयदेखि धार्मिक स्वन्त्रतताको वकालत गर्दै आएका एमालेका अध्यक्ष केपी ओली शुक्रबार साँझको बैठकमा एकाएक युटर्न हुनुको कारण बझ्न सकिनँ । बैठक चलिरहेको थियो, ओलीलाई एकाएक फोन आयो, त्यसपछि उनी युटर्न भए ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकको प्रारम्भ गर्दै सभापति कोइरालाले कांग्रेसले आफ्नो प्रजातान्त्रिक धार र यसको मूल्यमान्यता नत्याग्ने उल्लेख गर्दै संविधानसभाको निर्वाचनमा सहभागी नहुने मोहन वैद्यसम्मको सम्मानमा संविधान जारी हुनुपर्ने बताए । बहुलवाद प्रजातन्त्रको मुटु रहेकाले यसलाई छोड्न नसक्ने प्रतिबद्धता कोइरालाले गरे ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाले र एमाओवादीका कारण संविधान निर्माणमा धेरै अप्ठ्यारो परेको धारणा राखे । सुरक्षा परिषद्मा प्रधानसेनापति, मुख्य सचिव र रक्षासचिव थप गर्नुपर्ने अडानमा कांग्रेस रहेको जानकारी सिटौलाले बैठकमा दिए । वडाध्यक्षको निर्वाचन हुने र थ्रेस होल्ड रहने उनले बताए ।
अर्थमन्त्रीसमेत रहेका डा. रामशरण महतले संविधान निर्माणमा कांग्रेसको भूमिका निर्णायक र जिम्मेवार पूर्ण हुनुपर्नेमा जोड दिँदै भने, ‘संविधानमा रहेका अस्पष्ट वामपन्थी वाक्यहरू हट्नुपर्ने, बहुलवाद कायम हुनुपर्ने, विदेशी लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने हुन्छ ।’
![]()
![]()
![]()
उनले संवैधानिक अंगमा निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकबाहेक अन्य हुन नहुने धारणा डा. महतले राखेका थिए । केन्द्रीय नेता विमलेन्द्र निधिले आफूलाई भर्खरै वरिष्ठ नेता शेरबहादुर देउवाले फोनमार्फत धर्मका बारेमा केही नराख्न जानकारी दिएको बताएका थिए ।