ताजा खबर

तातोपानी नाका खोल्न काम सुरु

सिन्धुपाल्चोक , २०७२ श्रावन १७,
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पबाट क्षतविक्षत तातोपानी नाका खोल्न नेपाली सेनाको समन्वयमा चिनियाँ सशस्त्र प्रहरीले शनिबार काम सुरु गरेको छ । नेपाली सेनाका अनुसार अब तीन साताभित्र अरनिको राजमार्ग मर्मत सकेर तातोपानी नाका सञ्चालनमा आउनेछ ।
सरकारले सेनाको समन्वयमा अरनिको राजमार्ग सञ्चालन गराई तातोपानी नाका खोल्ने निर्णय गरेपछि चिनियाँ पक्षले शनिबार औपचारिक रूपमा सडक मर्मत थालेको हो । भूकम्पका कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि चिनियाँ सेना र प्रहरीले मर्मतमा चासो देखाउँदै आएको थियो ।
सडक मर्मतका लागि चीनले एक सय ५० सशस्त्र प्रहरीको टोली पठाएको छ । राजमार्ग मर्मत सुरु भएको जानकारी दिँदै सिन्धुपाल्चोकका प्रजिअ बलभद्र गिरीले केही दिनमा काम सकेर चिनियाँ टोली फर्कने जानकारी दिए । ‘नेपाली सेनाको समन्वयमा चिनियाँ सशस्त्र प्रहरीले राजमार्ग मर्मत सुरु गरेका छन्’, गिरीले भने ।
सैनिक मुख्यालयको समन्वयमा नेपाली सेनाको टोलीले प्राविधिक र सुरक्षाको काम गर्ने र चिनियाँ सशस्त्र प्रहरीले मर्मत गर्ने जिल्लास्थित गोरखबहादुर गणका गणपति राजाराम बस्नेतले जानकारी दिए ।
‘मुख्यालयले खटाएको टोलीले आवश्यक सुरक्षा र समन्वय गरिरहेको छ,’ बस्नेतले भने । बस्नेतका अनुसार नेपाल सरकारसँग सहमति भएअनुरूप चिनियाँ सशस्त्र प्रहरी टोलीले लिपिङदेखि खाडीचौरसम्म ३५ किलोमिटर सडक मर्मत गरी सञ्चालन गराउने जिम्मा लिएको छ ।
भूकम्पपछि राजमार्गका विभिन्न ठाउँमा गएको पहिरोले सवारी आवागमन अवरुद्ध छ । सडक अवरुद्ध भएर सीमा क्षेत्रका बासिन्दा र तातोपानी भन्सार परिसरमा रहेको व्यापारिक सामान अलपत्र परेपछि डेढ महिनाअघि पनि चिनियाँ सेनाले सडक खुलाउन सहयोग गरेको थियो ।
सीमादेखि बाह्रबिसेसम्म तत्कालका लागि सडक खुलाए पनि पुनः अवरुद्ध भएपछि चिनियाँ सेना र प्रहरी टोली नेपाल सरकारको अनुमति कुरेर बसेको थियो । केही सातादेखि सडक खुलाउने जनशक्ति लिएर खासामा तैनाथ चिनियाँ प्रहरी टोली सरकारले सेनाको समन्वयमा काम गर्ने अनुमति दिएपछि मर्मतमा सक्रिय भएको हो ।
यसअघि सडक खुलाएर सीमा क्षेत्रका बासिन्दाको मन जितेको चिनियाँ प्रहरी पनि काम गर्न उत्साही देखिएको स्थानीय बताउँछन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीका इन्जिनियरिङ टोली र अन्य सुरक्षा निकायलाई समेत समन्वय गरी शनिबार राजमार्ग खुलाउने कार्य सुरु गरिएको काठमाडौंस्थित सैनिक मुख्यालयले जनाएको छ ।
सेनाका अनुसार चिनियाँ प्रहरी टोली दैनिक कार्य गरी बेलुका आफ्नै देश फर्किनेछन् । काठमाडौंस्थित चिनियाँ दूतावासले अरनिको राजमार्ग खुलाउने कार्य चीनको नेपाललाई पुनर्निर्माणमा सघाउने एक पाटो भएको जनाएको छ ।
श्रोत : अन्नपुर्ण पोस्ट

Related posts